धरान । आगामी शनिबार धरानमा ‘ग्यालेक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।
धरान गल्फ क्लब को आयोजनामा र ग्यालेक्सी काठमाण्डौं को प्रायोजनमा प्रतियोगिता धरान–१८ स्थित गल्फ कोर्षमा सञ्चालन हुन लागेको हो।
एकदिने प्रतियोगितामा धरान, इटहरी र विराटनगरबाट करिब ५० जना एमेच्योर खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष हरिबहादुर राईले जानकारी दिए। प्रतियोगितामा विजेताहरूलाई खेलाडीका लागि आवश्यक विभिन्न खेल सामग्री पुरस्कारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ। विजेताहरूलाई छाता, ब्याग, बल, पञ्जालगायतका सामग्री दिइनेछ।
प्रतियोगितामा ग्रस विजेता, नेट विजेता, नेट उपविजेता, नेट फस्ट रनरअप, सिनियर विजेता, जुनियर विजेता, महिला विजेता, लङ्गेस्ट ड्राइभ, नियरेस्ट टु द पिन तथा मोस्ट बर्डिज विधामा पुरस्कार प्रदान गरिनेछ। ग्रस विजेता र नेट विजेतालाई ३० हजार ५ सय रुपैयाँ बराबरको ब्याग तथा गल्फ पञ्जा प्रदान गरिने जानकारी प्रोफेसनल खेलाडी मणि राईले दिए।
त्यस्तै नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले खेलाडीलाई उपयोगी हुने खेल सामग्री पुरस्कारमा राखिएकाले खेलाडीहरू उत्साहित भएको बताए। उनका अनुसार प्रतियोगिताका लागि आवश्यक सामग्री भारतको कोलकाताबाट खरिद गरिएको हो।
प्रायोजक ग्यालेक्सी काठमाण्डौंले प्रतियोगिता सञ्चालनका लागि यस वर्ष २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ। प्रतियोगिता सफल भए आगामी वर्षहरूमा पनि ग्यालेक्सी काठमाण्डौंले प्रायोजनलाई निरन्तरता दिने योजना रहेको धरान गल्फ क्लबले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।