काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको (विशाल जित)का लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई टेलिफोन गरी बधाई दिएका छन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटसहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा प्रधानमन्त्री मोदीले सोमबार दुवै नेतासँग संवाद गरेका हुन् । निर्वाचन परिणाम अन्तिम चरणमा पुगिरहेको बेला मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
टेलिफोन संवादका क्रममा मोदीले निर्वाचनमा प्राप्त ऐतिहासिक सफलता र रास्वपाको उल्लेखनीय उदयको प्रशंसा गर्दै नयाँ सरकार गठनका लागि शुभकामना दिएका छन् । गत पुस १३ गते नै रास्वपाभित्र निर्वाचनपछि बालेन्द्र साह प्रधानमन्त्री बन्ने सहमति भइसकेको सन्दर्भमा मोदीले दुवै नेतासँग भावी सहकार्यका विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासमा जोड दिएका छन् ।
यसअघि पनि प्रधानमन्त्री मोदीले फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिइसकेका थिए । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाको भारी अग्रता कायम रहँदा छिमेकी मुलुक भारतबाट आएको यो बधाईलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।