लोड हुँदैछ...

मेनु

गगन थापाले दिए अमरेश सिंहलाई बधाई, भने– ‘जनताको काममा निरन्तर लागिरहनेछ’

गगन थापाले दिए अमरेश सिंहलाई बधाई, भने– ‘जनताको काममा निरन्तर लागिरहनेछ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. अमरेश कुमार सिंहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिंहसँग पराजित भए लगत्तै थापाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै बधाई ज्ञापन गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले भनेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना।’

निर्वाचनमा पराजित भए पनि थापाले आफूलाई विश्वास गर्ने मतदाताहरूप्रति विशेष आभार प्रकट गरेका छन्। उनले चुनावी परिणामलाई स्वीकार गर्दै मतदाताको माया र मतका लागि कृतज्ञता व्यक्त गरेका हुन्। ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ थापाले लेखेका छन्।

पराजित भए पनि आफूले सर्लाही क्षेत्र नम्बर ४ को विकास र त्यहाँका नागरिकका समस्या समाधानका लागि सधैँ पहल गरिरहने प्रतिबद्धतासमेत थापाले जनाएका छन्। उनले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’

सर्लाही–४ मा घण्टी चुनाव चिन्ह लिएर उठेका डा.अमरेश सिंहले कांग्रेसका बलिया उम्मेदवार मानिएका थापालाई निकै रोचक प्रतिस्पर्धाका बीच पराजित गरेका हुन्। थापाको यो उदारतापूर्ण बधाई र प्रतिबद्धतालाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।