विराटनगर । पहाडी तथा हिमाली जिल्लाका केही दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानीमा समस्या भएपछि भोलि मात्रै मतपेटिका आउने भएका छन् । सङ्खुवासभा, सोलुखुम्बु र ताप्लेजुङका केही क्षेत्रको मतपेटिक भोली मात्रै सदरमुकाम आइपुग्ने भएका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ती क्षेत्रका मतपेटिकाहरू भोलि मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने सम्बन्धित जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही क्षेत्रका मतपेटिकाहरू भोलि मात्रै सदरमुकाम आइपुग्नेछन् । जिल्लाका कूल ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो, जसमध्ये ५ वटा केन्द्रबाट हेलिकोप्टरमार्फत र ४ वटाबाट गाडीमार्फत भोलि बिहान मात्रै मतपेटिका आइपुग्नेछन् ।‘आज गाडीमा हिँडेका मतपेटिकाहरू पनि बाटोको अवस्थाका कारण भोलि मात्रै आइपुग्ने देखिएको छ, सबै मतपेटिका संकलन भएपछि मात्रै मतगणना सुरु गरिनेछ,’प्रजिअ थपलियाले बताइन् ।
त्यसैगरी, सोलुखुम्बु जिल्लामा पनि १० वटा मतदान केन्द्रका मतपेटिकाहरू भोलि मात्रै ढुवानी गरिने भएको छ । प्रजिअ लिलाकुमारी केसिका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाका १० वटा मतदान केन्द्र र ९ वटा मतदान स्थलका मतपेटिकाहरू भोलि बिहान हेलिकोप्टरमार्फत ल्याउने तालिका तय गरिएको छ । उक्त गाउँपालिकाका कुल १२ मतदान केन्द्रमध्ये वडा नम्बर १ का दुई केन्द्रका मतपेटिका भने गाडीमार्फत आजै रातिसम्म आइपुग्ने भए पनि बाँकी १० वटाका लागि भने मौसम र सुरक्षाका कारण भोलि बिहानसम्म कुर्नुपर्ने अवस्था छ ।
यता ताप्लेजुङमा पनि दुर्गम क्षेत्रका ४ वटा मतदान केन्द्रको मतपेटिका आज सदरमुकाम पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिए । फक्ताङलुङ गाउँपालिकाका ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाका मतदान केन्द्रका मतपेटिकाहरू आजै ल्याउने तयारी गरिए पनि मौसममा आएको खराबीका कारण नेपाली सेनाको हेलिकोप्टर उड्न नसक्दा ढिलाइ भएको हो । यी चारै केन्द्रका मतपेटिकाहरू भोलि मात्रै सदरमुकाम ल्याइने र त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर गणना प्रक्रिया अघि बढाइने सेढाईँले बताए । तीनवटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका आउन बाँकी रहेका क्षेत्र बाहेकका अन्य ठाउँका मतपेटिका भने सुरक्षित रूपमा संकलन भइरहेको जनाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।