विराटनगर । आज भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले यसअघि ६५ प्रतिशत मतदान हुने अपेक्षा गरेकोमा अपेक्षा अनुसार मतदान नभएको हो । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा करिब ६१ प्रतिशत मतदान भएको थियो ।
जेनजी आन्दोलनपछि नियमितभन्दा २ वर्ष अगाडि भएको निर्वाचनमा उत्साहजनक रुपमा मतदान हुने अपेक्षा थियो । तर, तथ्यांकमा त्यस्तो देखिएन । आयोगकाक कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै करिब ६० प्रतिशत मतदान भएको बताएका हुन् ।
भण्डारीका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ । केही मतदान केन्द्रमा अहिले पनि मत खस्ने प्रक्रिया जारी रहेको उनले बताए । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित भएको रिपोर्ट दिएको उनले बताए ।
‘मतगणनास्थलमा मतपेटिका आएपछि गणना थालिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गरिने योजना छ’, उनले भने ।
तोकिएको मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रक्रिया सफल भएको भण्डारीले उल्लेख गरे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।