लोड हुँदैछ...

मेनु

तथ्याङ्कमा मोरङ : ६ निर्वाचन क्षेत्र, ७ लाख ८३ हजार मतदाता

तथ्याङ्कमा मोरङ : ६ निर्वाचन क्षेत्र, ७ लाख ८३ हजार मतदाता

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मीसँगै मुलुककै राजनीतिक हब मानिने मोरङ जिल्लामा चुनावी रौनक उत्कर्षमा पुगेको छ । कूल ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसपटक ७ लाख ८३ हजारभन्दा बढी मतदाताले आगामी ५ वर्षका लागि आफ्नो प्रतिनिधि छान्दैछन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार मोरङमा कूल मतदाता संख्या ७ लाख ८३ हजार ५० रहेको छ । जसमा पुरुष मतदाताको संख्या ३ लाख ९९ हजार ६ सय ८६ छ भने महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ रहेका छन् । जिल्लाभरका ६ वटा क्षेत्रबाट प्रतिनिधिसभाका लागि ११८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

क्षेत्र नम्बर १

१ लाख २८ हजार ५ सय ४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ मा ६० मतदान स्थल र १५१ मतदान केन्द्र तोकिएका छन् । यहाँ १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट खड्गबहादुर फागो र नेकपा एमालेबाट घनश्याम खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यज्ञमणि न्यौपाने र नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा मैदानमा छन् । यसअघिको निर्वाचनमा यहाँबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए । यस क्षेत्रको मतगणना उर्लाबारी नगरपालिकामा हुनेछ ।

क्षेत्र नम्बर २

१ लाख २९ हजार १ सय ८४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६८ मतदानस्थल र १५४ केन्द्र रहेका छन् । यहाँ १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल र एमालेका दीलिप बगडीयाबीचको प्रतिस्पर्धालाई रोचक मानिएको छ । साथै, रास्वपाका कृष्णकुमार कार्की र नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राई पनि प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा यहाँबाट एमालेका ऋषिकेश पोखरेल विजयी भएका थिए । यस क्षेत्रको मतगणना रतुवामाइको सिजुवास्थित विश्वनाथ मन्दिरको सामुदायिक भवनमा हुनेछ ।

क्षेत्र नम्बर ३

मोरङको क्षेत्र नम्बर ३ मा जिल्लाकै सबैभन्दा धेरै १ लाख ५८ हजार ५७ मतदाता रहेका छन् । ५५ मतदान स्थल र १७९ केन्द्र रहेको यस क्षेत्रमा २१ जना उम्मेदवार छन् । कांग्रेसका सुनिलकुमार शर्मा आफ्नो विरासत जोगाउने दाउमा छन् भने एमालेका ईरान राई उनलाई चुनौती दिइरहेका छन् । रास्वपाबाट गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे पनि चुनावी दौडमा छन् । यस क्षेत्रको मतगणना बेलबारीको भगवती माविमा गरिनेछ ।

क्षेत्र नम्बर ४

१ लाख १९ हजार २ सय ५५ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ४० मतदान स्थल र १३१ केन्द्र छन् । यहाँ २१ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी, कांग्रेसका गुरुराज घिमिरे र एमालेका जिवन घिमिरेबीच यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाका सन्तोष राजवंशी पनि युवा मत तान्ने कसरतमा छन् । गत निर्वाचनमा मोदीले यहाँबाट जित निकालेका थिए । मतगणना विराटनगरको जनता नमुना माविमा हुनेछ ।

क्षेत्र नम्बर ५

१ लाख १० हजार १ सय ७७ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ४४ मतदान स्थल र १२४ केन्द्र छन् । २२ जना उम्मेदवार रहेको यस क्षेत्रमा गत निर्वाचनका विजेता योगेन्द्र मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीबाट मैदानमा छन् । उनलाई कांग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल र नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले चुनौती दिइरहेका छन् । रास्वपाकी आशा झा पनि प्रतिस्पर्धामा छिन् । यस क्षेत्रको मतगणना सुनसरी मोरङ सिचाई आयोजनाको कार्यालयमा हुनेछ ।

क्षेत्र नम्बर ६

विराटनगर महानगरपालिकासहितको क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । ३९ मतदानस्थल र १४९ केन्द्र रहेको यस क्षेत्रमा २० जना उम्मेदवार छन् । कांग्रेसका हेभीवेट नेता डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीचको मुख्य प्रतिस्पर्धा यहाँको आकर्षण हो । रास्वपाकी रुबिना आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय पनि चुनावी मैदानमा सक्रिय छन् । गएको निर्वाचनमा डा. कोइराला यहीँबाट विजयी भएका थिए । यस क्षेत्रको मतगणना आदर्श मावि, विराटनगरमा हुनेछ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा स्थापित दलका पुराना अनुहार र नयाँ उदीयमान शक्तिहरूबीच रोचक भिडन्त हुने देखिएको छ । ७ लाख ८३ हजार मतदाताले दिने मतले मोरङको मात्र नभई देशकै आगामी राजनीतिक दिशा तय गर्नेछ । सबै क्षेत्रको मतगणना स्थल तोकिसकिएको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।