लोड हुँदैछ...

मेनु

सुझबुझ र संयमतासाथ मतदान गर्न राजेश हमालको आग्रह

सुझबुझ र संयमतासाथ मतदान गर्न राजेश हमालको आग्रह

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले भिडियो सन्देश जारी गर्दै मतदातालाई सुझबुझ र विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले वर्तमान परिस्थितिमा राजनीतिक ऐक्यबद्धता र स्थिरता अत्यन्त आवश्यक रहेको बताएका छन्।

देशको अस्तित्व र सार्वभौमसत्ताको रक्षाका लागि पनि स्थिर राजनीति अपरिहार्य रहेको उनको धारणा छ। केही दिनअघि शक्तिशाली राष्ट्रले अनुमतिबिनै अर्को मुलुकमाथि आक्रमण गरेको प्रसंग उल्लेख गर्दै हमालले विश्व राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको बताए। यस्तो अवस्थाले नेपालजस्तो सानो र संवेदनशील राष्ट्रलाई थप जोखिममा पार्न सक्ने उनको तर्क छ।

भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भ उठाउँदै उनले ती दिनमा भएका कहालीलाग्दा घटनाबारे अझै स्पष्ट जवाफदेहिता नदेखिएको बताएका छन् । राष्ट्रिय सम्पत्तिमा भएको क्षति र ती घटनाबीच आपसी सम्बन्ध थियो वा थिएन भन्ने विषयमा जनताले स्पष्ट जानकारी नपाएको उनले उल्लेख गरे।

यसपटकको निर्वाचन मतदाताका लागि चुनौतीपूर्ण रहेको हमालले बताएकाक छन् । पुराना दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक अपरिपक्वता दुवै पक्षबीच सही छनोट गर्नुपर्ने अवस्था रहेको उनले बताए। यस्तो संवेदनशील घडीमा मतदाताले गम्भीरतापूर्वक सोचेर आफ्नो मत प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

हमालले मतमार्फत कसलाई शक्ति हस्तान्तरण गरिँदैछ र ती व्यक्तिले विश्वको अस्थिर परिस्थितिमा देशलाई कसरी अघि बढाउनेछन् भन्ने विषयमा गहिरो सोच आवश्यक रहेको बताए। अहिले राजनीतिमा सहकार्यभन्दा शक्ति संघर्ष बढी देखिएको उल्लेख गर्दै नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर बन्दै गइरहेको सन्दर्भमा नेपाललाई थप सजग रहनुपर्ने उनले बताए।

‘हाम्रो अगाडि छनोट सजिलो छैन, चुनौतीपूर्ण छ। त्यसैले सुझबुझ र संयमताका साथ मतदान गर्नुपर्छ,’ हमालले भनेका छन्। उनले नेपालको राजनीतिले देशलाई सही निकास दिन सकोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।