विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजेको समयमा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरू आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा समेत संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त घटनाका सम्बन्धमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।