जनकपुर । धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल कालोसूचीमा परेपछि उम्मेदवारी खारेज भएको खुलेको छ।
मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरेका छन् ।
आयोगका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा राखेको पुष्टि भएपछि उम्मेदवारी खारेज भएको हो । साहको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो।
बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ।
‘वित्तीय संस्थाको ऋण लिएर नतिरेको, चेक बाउन्स गरेको, लगायतका विषयमा मुद्दा लागेका व्यक्तिलाई कालोसूचीमा राखिन्छ।
धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले कमलविरूद्ध कालोसूचीमा परेको उजुरी छानबिनका लागि आयोग पठाइएको बताए। उजुरीमाथि छानबिनपछि सोमबार बसेको आयोग बैठकले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड ९ अनुसार उम्मेदवार हुन अयोग्य ठहर गरेको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गराउनु भएका उम्मेदवार श्री किशोरी साह कमल प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम निजको उम्मेदवारी खारेज गर्ने निर्णय भएको व्यहोरा निर्णयानुसार अनुरोध छ,’ आयोगले निर्णयमा भनेको छ। प्रतिनिध सभा निर्वाचन ऐन, २०७४ को दफा १३ (९) ले ‘प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर’ उम्मेदवार हुन अयोग्य हुने उल्लेख छ।
२०७४ सालको चुनावमा एमालेबाट धनुषाका प्रदेशसभा सदस्य बनेका उनी २०७९ मा जनमतबाट प्रतिनिधि सभा उम्मेदवार भएका थिए। त्यो बेला भने उनी पराजित भएका थिए। यसपटक रास्वपाबाट उम्मेदवार भएका उनको उम्मेदवारी खारेज भएको हो।
साह एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ।
कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा साह सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । त्यसबेला साहसँगै साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् । त्यसपछि २०८० असोज १७ गते किशोरीसँगै सञ्जित कुमार साह पनि दोस्रो पटक कालोसूचीमाा परे । त्यही मितिमा फेरि उनीहरू दुवै कर्जा सूचना केन्द्रको अर्को कालोसूचीमा परेको रेकर्ड भेटिएको छ।
त्यसलगत्तै २०८० असोज १९ गते साहसहित रामकुमार महासेठलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्यो । त्यसपछि २०८० असोज २१ गते साह र महासेठलाई फेरि अर्को पटक कालोसूचीमा राखियो ।
उनले गरेको बदमासीका कारण कर्जा सूचना केन्द्रले २०८० माघ २२ गते फेरि कालोसूचीमा राख्यो । उनीसँगै सञ्जितकुमार साह पनि फेरि कालोसूचीमा परे । साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर चुनावमा होमिइसकेको अवस्थामा यही माघ ४ गते उनलाई कालोसूचीमा राखियो । त्यसपछि यही १० गते पनि साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।
धनुषा १ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृकाप्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रह्मदेव महतो उम्मेदवार छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।