विराटनगर । फागुन २१ गते हुने निर्वाचनको सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नं. ५ मा विशेष सुरक्षा अपनाइएको छ ।
दलहरुले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको सुरक्षा विश्लेषण छ ।
झापा ५ सँगै सर्लाही ४ मा पनि सुरक्षा कडाई गरिएको नेपाल प्रहरीले जनाएको छ । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह उम्मेदवार छन् । यस्तै सर्लाही ४ मा काँग्रेस सभापति गगन थापा उम्मेदवार छन् । उनीहरु तीनै जना निर्वाचन अगाडि नै सम्बन्धित दलले अगाडि सारेका प्रधानमनत्रीका उम्मेदवार हुन् ।
गत साता झापा ५ मा एमाले अध्यक्ष ओलीको सुरक्षाको लागि भन्दै खटाइएका भोलेन्टियर्स फोर्सका कार्यकर्ताले हाम्रोमतका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि आक्रमण गरेका थिए । ओलीको अन्तरवार्ता लिन पुगेका आचार्यमाथि आक्रमण गरि उनको मोवाइल लुटिएको थियो ।
घटनामा संलग्न अझै पक्राउ परेका छैनन् भने एमाले कार्यकर्ताले पत्रकारको खुट्टा भाँच्ने धम्की दिइरहेका छन् । ओलीको अघिपछि हिँड्ने फोर्सका कार्यकर्ताले मतदातासमेत आतंकित छन् । उनीहरुले एमालेलाई भोट दिन्नौं भन्ने मतदातालाई धम्की दिने गरेका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले भने “झापा-५ मा राष्ट्रिय-अन्तर्राष्ट्रिय ध्यान रहेकाले हामीले विशेष सतर्कता अपनाएका छौँ । त्यहाँको स्थिति अहिले पूर्ण नियन्त्रणमा छ ।” झापा-५ लाई हेर्ने गरी प्रहरी उपरीक्षक एसपीको टोली परिचालन गरिएको छ।
दुवै क्षेत्रमा केही घटना हुनसक्ने विश्लेषणसहित थप प्रहरी खटाउनेदेखि सूचना संकलनका लागि सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्ययमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत आइतबार मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिँदै दुई क्षेत्रमा विशेष ध्यान दिन भनेका छन् ।
अहिले झापा र सर्लाहीमा सादा पोशकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ । नेपाल प्रहरीको निर्वाचन सुरक्षा विश्लेषण महाशाखाले सूचना संकलन गरेर महानिरीक्षक कार्कीलाई ब्रिफिङ गराएको छ । त्यसपछि कार्कीले उच्च सतर्कता अपनाउनले यस क्षेत्रका प्रहरीलाई विशेष निर्देशन दिएको स्रोतले बतायो ।
यी दुई क्षेत्रमा उच्च सुरक्षा ‘थ्रेट’ रहेको निष्कर्ष निकाले थप प्रहरी टोली समेत परिचालन गरिएको छ । अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।
थप मद्दतका लागि सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । यो नेपाल प्रहरीको मात्रै संख्या हो ।
प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन भएको छ । मौन अवधिको समयमा हुनसक्ने चलखेलको जोखिम पनि उत्तिकै रहेको भन्दै यो अवधिमा सुरक्षा निकायले ख्याल गर्नुपर्ने बारेको ब्रिफिङ पनि प्रहरीलाई गराइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।