लोड हुँदैछ...

मेनु

जेन्जी आन्दोलनमा एमाले परित्याग र मानगढ खानेपानीको चुनाब घिमिरेलाई भारी

जेन्जी आन्दोलनमा एमाले परित्याग र मानगढ खानेपानीको चुनाब घिमिरेलाई भारी

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ४ का नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई आफ्नै विगतले सकस बनाएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन उत्कर्षमा पुग्दा भदौ २४ गते पार्टी केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज रहेका घिमिरेले पार्टीको सबै जिम्मेवारी र सदस्यता पनि त्यागेको घोषणा गरेका थिए ।

जेनजी आन्दोलनमा राज्यले गरेको दमन निन्दनीय रहेको भन्दै घिमिरे र एमाले प्रदेश कमिटि सदस्य रहेकी उनकी श्रीमती विमला दाहालल घिमिरेले पार्टी त्यागेका थिए । उनीहरुले जेनजी आन्दोलनको समर्थन गर्दै आगामी दिनमा पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएका थिए ।

‘हिजो भदौ २३ गते भ्रष्टाचार, बेथिति विरुद्ध जेनेजी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट भएको दमन निन्दनीय छ । उपरान्त हामी दम्पति जेनेजी पुस्ताको एजेन्डा र आन्दोलनलाई समर्थन गर्दै नेकपा एसको कुनै पनि पद र जिम्मेवारीमा नरहने जानकारी गराउँदछौं’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । आन्दोलनको समयमा जेनजीको समर्थन गर्दै विज्ञप्ति जारी गरेका उनी आन्दोलन मत्थर भएपछि भने बाध्य भएर विज्ञप्ति जारी गर्नुपरेको भन्दै पार्टी काममा फर्किएका थिए ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट भएको कारण उनी गत महाधिवेशनमा केन्द्रीय सदस्य भए । तर, जेनजी आन्दोलनकै समर्थन गर्दै विज्ञप्ति जारी गरेका एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाललाई भने पदबाट बर्खास्त मात्र गरिएन महाधिवेशन प्रतिनिधिमा पनि रोक लगाइएको थियो । घिमिरे भने आफ्नो घरमा आगजनी गर्न खोजेकोले विज्ञप्ति जारी गर्न बाध्य भएको बताएका थिए ।

जेनजी आन्दोलनको बेला पार्टीबाट राजीनामा दिएको वक्तब्य जारी गरेका घिमिरे आन्दोलन मत्थर भएपछि मोरङका अगुवा कार्यकर्ताको भेलामा पुग्दा कार्यकर्ताले नै होहल्ला गरेका थिए । संकटको बेला पार्टीललाई दोष लगाउँदै राजीनामा दिएका व्यक्तिलाई पुरानै भूमिकामा फर्काएको भन्दै उनीहरुको आपत्ती थियो ।

घिमिरे पक्षका कार्यकर्ताले भने संकटको बेला ज्यान जोगाउन मात्र विज्ञप्ति जारी गरेको भन्दै बचाउ गरेका थिए । आफूले पार्टी छाड्न नचाहेको भएपनि ‘जेन–जी’ आन्दोलनका क्रममा आन्दोलनकारीले घरमा ढुंगामुढा गर्न थालेपछि वृद्ध बुबाआमालाई जोगाउन राजीनामाको घोषणा गर्नुपरेको स्पष्टिकरण उनले दिएका थिए ।

संकटको बेला पार्टी र नेतृत्वलाई गाली गर्दै राजीनामा दिएर चुनाबमा भने उम्मेदवार भएको भन्दै एमालेकै कार्यकर्ता उनीदेखि असन्तुष्ट छन् । रोचक पक्ष त जेनजी आन्दोलनलाई समर्थन गर्दै एमाले छाडेको घोषणा गरेका घिमिरे जेनजीहरुलाई अपराधी करार गर्ने केपी ओलीका विश्वासपात्र बनेका छन् । ओलीको विश्वासपात्र बनेर उम्मेदवार बनेपनि एमालेकै कार्यकर्ताले भने उनलाई साथ दिएका छैनन् ।

पार्टी नेतृत्व र संगठन संकटमा परेको समयमा घिमिरेले दिएको राजीनामालाई एमालेका एकथरी कार्यकर्ताहरूले ‘अवसरवाद’ को संज्ञा दिँदै आएका छन् । पार्टीलाई अप्ठ्यारो पर्दा खुट्टा कमाएका घिमिरेप्रति एमालेकै संगठित सदस्यहरूले भरोसा गर्न सकेका छैनन् ।

क्षेत्र नम्बर ४ का एक संगठित सदस्यले आक्रोश पोख्दै भने, “पार्टी संकटमा परेको बेला राजीनामा दिने अनि अहिले उनैले अवसर पाउने कुराले नै एमाले अहिले समस्यामा परेको हो । संकटको बेला पार्टी छोडेर भाग्नेलाई कसरी सहयोग गर्र्नु ?’ जेनजी आन्दोलनपछि हुन लागेको चुनाबमा देशभर एमाले रक्षात्मक बनेको बेला मोरङ ४ मा घिमिरेकै कारण थप रक्षात्मक बनेको एमालेकै कार्यकर्ताहरुले बताउने गरेका छन् ।

चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवार घिमिरे पनि उत्तेजित देखिन थालेका छन् । सोमबार बिहान विराटनगरमा आयोजित चुनावी सभामा उनले विपक्षी उम्मेदवार र नयाँ शक्तिप्रति निकै आक्रोश पोखे । उनले भने, “पार्टीमा लागेको ६ महिनामै प्रधानमन्त्री हुने सपना बोकेका पात्र र प्रवृत्तिहरू अहिले कुदिरहेका छन् । १५–२० वर्ष अगाडि ‘म राष्ट्रपति हुँदैछु’ भनेर पोस्टर टाँस्नेको हविगत जे भयो, अहिले झापामा आएर सिगौरी खेल्न खोज्नेहरूको पनि त्यही हुनेछ ।”

उनले क्षेत्रमा अघिल्ला २ निर्वाचनमा विजयी भएका नेकपा उम्मेदवार अमनलाल मोदीप्रति कटाक्ष गर्दै विगतमा अरूको तागतले जितेको भएपनि यसपटक कसैले नजिताउने दावी गरे । विपक्षमाथि खनिएका घिमिरेलाई आफ्नै कार्यकर्ता र मतदाताको प्रश्नले घेरेको छ– “पार्टी संकटमा हुँदा ‘जेन्जी’ को नारा लगाउँदै राजीनामा दिएर भाग्नेले अहिले कुन नैतिकताले भोट माग्नु ?”

त्यसो त घिमिरेमाथि पार्टीमा चरम गुटबन्दी गरेको र गत स्थानीय निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन लागिपरेको आरोप पनि कार्यकर्ताले लगाउने गरेका छन् । एमालेका पुराना नेता घिमिरे लामो समय माधबकुमार नेपालल निकट रहेका थिए । तर, एमाले विभाजन हुँदा ओलीलाई साथ दिएका उनी त्यसपछि ओलीको बफादार सिपाही भएका छन् ।

मोरङमा एमालेभित्र चर्चा र विवादको केन्द्र बनेको मानगढ खानेपानीको निर्वाचनमा घिमिरेले तत्कालीन महानगर अध्ययक्ष सागर थापामाथि कार्वाही गराएका थिए । एमालेको तीन महिने कार्वाहीमा परेका थापा त्यसपछि भएको एमाले मोरङको अधिवेशनमा घिमिरे र केपी ओलीको समर्थनप्राप्त टिमलाई पराजित गर्र्दै एमाले मोरङको उपाध्यक्ष निर्वाचित भए । विवादको कारण रोकिएको मानगढ खानेपानीको निर्वाचनमा पनि घिमिरेले अगाडि सारेका उम्मेदवार रामबहादुर घिमिरे पराजित भएका थिए ।

२०७९ को निर्वाचनमा विराटनगर महानगरको मेयरका उम्मेदवार रहेका सागर थापालाई चुनाब हराउन भूमिका खेलेको आरोप पनि घिमिरेमाथि लाग्ने गरेको छ । मोरङको क्षेत्र नं. ४ मा पर्ने महानगरका सबैजसो वडाको अध्यक्ष एमालेले जित्दा थापाले भने ती सबै वडामा कमजोर मत प्राप्त गरेका थिए । त्यसको कारण घिमिरेले अन्तरघात गरेको आरोप थापालले आन्तरिक छलफलमा लगाउने गरेका छन् ।

विवादै विवादको विगतबीच उम्मेदवार बनेर मैदानमा ओर्लिएका घिमिरेसँग मतदाता मात्र नभएर कार्यकर्ता नै असन्तुष्ट छन् । जसले गर्दा उनले क्षेत्रमा चौथो पोजिसन पनि प्राप्त गर्न कठिन रहेको एमालेकै कार्यकर्ताहरुले बताएका छन् ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी, नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।