लोड हुँदैछ...

मेनु

अहङ्कारीलाई जिताए अर्को हेलिकप्टर ठिक्क पार्ने दिन आउन सक्छ : रञ्जित तामाङ

अहङ्कारीलाई जिताए अर्को हेलिकप्टर ठिक्क पार्ने दिन आउन सक्छ : रञ्जित तामाङ

झापा । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रञ्जित तामाङले देशमा अतिवाद र अहङ्कारी शासकहरू हाबी भए पुनः शासकहरू हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आउन सक्ने भन्दै मतदातालाई सचेत गराएका छन् । गौरादहमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै तामाङले जनताको निराशालाई आशामा बदल्न नसके व्यवस्था नै सङ्कटमा पर्न सक्ने चेतावनी दिएका हुन् ।

तामाङले भने, “यदि कसैले फेरि सत्ताको श्रीपेच लगाउने र अहङ्कार प्रदर्शन गर्ने सोच्यो भने अर्को हेलिकप्टर रेडी गरे हुन्छ । जनताको असन्तुष्टि र निराशालाई सम्बोधन गर्न नसके शासकहरू एक-डेढ वर्षमै भाग्नुपर्ने स्थिति आउनेछ ।” उनले झापा क्षेत्र नम्बर ५ ले अब अहङ्कारी शासक रोज्ने कि जनताको सेवक रोज्ने भन्ने निर्णय गर्ने बेला आएको बताए ।

विगतमा यस क्षेत्रले पटक-पटक प्रधानमन्त्री पाए पनि जनताले विकासको साटो केवल ‘ललिपप’ मात्र पाएको उनको तर्क थियो । “हामीलाई एक थान सांसद वा प्रधानमन्त्री मात्र चाहिएको होइन, हामीलाई त जनताको अवस्था बदल्ने एजेण्डा चाहिएको हो,” तामाङले थपे, “राजनीतिक दल कन्सर्ट गर्ने हल होइन र संसद् फिल्म खेल्ने थलो होइन । त्यहाँ नीति र विधिको बहस हुनुपर्छ ।”

उनले झापा ५ मा देखिएको चुनावी प्रतिस्पर्धालाई दुई अहङ्कारी ‘साँढेको जुधाइ’ को संज्ञा दिँदै यसले देशलाई मुठभेडतर्फ धकेलेको आरोप लगाए । मुठभेडलाई अन्त्य गरी सहिदको सपना साकार पार्न र नयाँ पुस्ताको आशा जगाउन आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे । सचेत नागरिकले मात्र देशको दुःख बुझ्ने सही प्रतिनिधि छान्ने भन्दै उनले यसपटक भ्रम र हुइँयाको पछि नलाग्न मतदातालाई आग्रह गरे ।

झापाको यस चर्चित निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलगायतका प्रभावशाली व्यक्तित्वहरू चुनावी प्रतिस्पर्धामा रहेका कारण यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।