लोड हुँदैछ...

मेनु

विराटनगरको रामराज फार्माको ठगीधन्दा

विराटनगरको रामराज फार्माको ठगीधन्दा

विराटनगर । विरामीको स्वास्थ्य र विवशतामाथि व्यापार गर्ने विराटनगरको एक फार्मेसीको कर्तुत बाहिरिएको छ । विराटनगरस्थित कोशी अस्पतालको ठीक अगाडि रहेको ‘रामराज फार्मा’ ले विरामीलाई औषधीको लागत मूल्यभन्दा बढी असुलेर ठगी गरेको पाइएपछि औषधी व्यवस्था विभाग (डिडिए) ले पसलमा शिलबन्दी गरेको छ ।

आइतबार औषधी व्यवस्था विभाग विराटनगरको टोलीले आकस्मिक अनुगमन गर्दा उक्त फार्मेसीले औषधीको मूल्यमा चर्को ठगी गरिरहेको र संवेदनशील औषधीको भण्डारणमा समेत गम्भीर लापरवाही गरेको फेला परेको हो ।

डिडिएका फार्मेसी निरीक्षक रामकुमार मग्रातीको नेतृत्वमा गएको टोलीका अनुसार रामराज फार्माले जीवनमरणको दोसाँधमा रहेका विरामीले प्रयोग गर्ने औषधीमा समेत बढी मूल्य लिएको भेटिएको छ ।

ज्वरोका विरामीका लागि प्रयोग गरिने ‘प्याराडिन’ (१ एमजी) नामक औषधीको ४ वटाको कुल ७ सय २० रुपैयाँका दरले २ हजार ८८० रुपैयाँ मात्र लिनुपर्नेमा फार्मेसीले सुनवर्षी–६ का शंकर पासवानसँग ३ हजार ७२ रुपैयाँ असुलेको पाइएको छ ।
त्यसैगरी, पेटसम्बन्धी समस्यामा एन्टिबायोटिकको रूपमा प्रयोग गरिने ‘एनी ओर्निडा’ (५०० एमजी) को १४८ रुपैयाँ लिनुपर्नेमा १९८ रुपैयाँ लिएर विरामी लुटिएको अनुगमनका क्रममा फेला परेको छ ।

आर्थिक ठगी मात्र होइन, रामराज फार्माले विरामीको स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गरिरहेको पाइएको छ । अनुगमनका क्रममा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा फ्रिजमा अनिवार्य भण्डारण गर्नुपर्ने औषधीहरू फ्रिज नै बन्द गरेर राखिएको अवस्थामा भेटिएको छ । यसरी तापक्रम नमिलेको औषधीले विरामीलाई झन् जोखिममा पार्ने निरीक्षक मग्रातीले बताए ।
उनले भने, “प्रारम्भिक अनुसन्धानमा दुई वटा औषधीमा बढी मूल्य लिएको प्रष्ट देखिएको छ । हामीले बिक्री खाता नियन्त्रणमा लिएका छौँ, थप अनुसन्धानपछि अरु खुल्नेछ । ’

सस्तो पाइने आशामा झन् लुटिएँ
आफ्नी श्रीमति सीता देवी पासवानको पित्तथैलीको शल्यक्रियापछि इन्फेक्सन भएर आइसियूमा उपचार गराइरहेका शंकर पासवानले रामराज फार्माको ठगीको कथा सुनाए । अस्पताल भित्रको फार्मेसीभन्दा सस्तो पाइने आशमा बाहिर आएका उनले झन् बढी मूल्य तिर्नुपरेको बताए ।

“मैले १५ हजार रुपैयाँ डिपोजिट गरेको थिएँ, १० हजारको बिल दिएका छन्, तर हिसाब गर्दा प्रिन्ट रेटभन्दा धेरै बढी पैसा लिएका रहेछन्,’’ पासवानले दुखेसो पोखे ।

ठगी र लापरवाहीको प्रमाण भेटिएपछि औषधी व्यवस्था विभागले तत्कालका लागि रामराज फार्मामा शिलबन्दी गरेको छ । विरामीको बाध्यताको फाइदा उठाउँदै औषधीमा कालोबजारी गर्ने यस्ता फार्मेसी सञ्चालकलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग स्थानीयले गरेका छन् । विभागले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।