लोड हुँदैछ...

मेनु

जातीयता हैन, एजेण्डा हेरेर मतदात गर्न किरात याक्थुङ चुम्लुङको सुझाब

जातीयता हैन, एजेण्डा हेरेर मतदात गर्न किरात याक्थुङ चुम्लुङको सुझाब

धरान । किरात समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले नजिकिँदै गरेको निर्वाचनमा आफ्ना मुख्य एजेन्डामा सहमत उम्मेदवार र दललाई मतदान गर्न अपिल गरेको छ ।

एजेण्डामा सहमत र त्यसको कार्यान्वयनमा प्रतिबद्ध उम्मेदवारलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न चुम्लुङले आग्रह गरेको हो ।

चुम्लुङको एजेन्डा अस्वीकार गर्ने तथा मुद्दामा आधारित आन्दोलनको विरोध गर्ने उम्मेदवारविरुद्ध भने ‘नो भोट’ अभियान चलाउने घोषणा चुम्लुङको छ । चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कर्णविक्रम तुम्बाहाम्फेले ‘नो भोट’ भनेको चुनाव बहिष्कार नभई आफ्ना एजेन्डा सम्बोधन नगर्ने उम्मेदवारलाई मत नदिन गरिएको सचेत अपिल भएको स्पष्ट पारे ।

केही उम्मेदवारको घोषणापत्रमा एजेन्डा उल्लेख नभए पनि घरदैलो र सार्वजनिक भाषणमार्फत सकारात्मक धारणा आएको बताउँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरे। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार चुम्लुङका मुख्य तीन एजेन्डा ‘सेभ मुक्कुमलुङ’ आन्दोलनको समर्थन, मुक्कुमलुङ क्षेत्रमा केबलकार खारेजीको पक्षमा उभिने ‘नो केबलकार’ अभियानको समर्थन तथा प्रदेश नम्बर १ को नाम ‘कोशी’ खारेजीको आन्दोलनप्रति समर्थन रहेका छन्।

जिल्ला अध्यक्ष शिव सुब्बा इश्वोका अनुसार चुम्लुङ केन्द्रीय समितिको आह्वानमा लिम्बुवानका ९ जिल्लामा एकैसाथ पत्रकार सम्मेलन आयोजना गरी समुदायका सरोकारका विषयमा राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds