लोड हुँदैछ...

मेनु

झापा–५ का मतदाता एमाले अध्यक्ष ओलीसँगै हिंड्ने भोलेन्टियर्स फोर्सबाट असुरक्षित !

झापा–५ का मतदाता एमाले अध्यक्ष ओलीसँगै हिंड्ने भोलेन्टियर्स फोर्सबाट असुरक्षित !

विराटनगर । झापाको कमल गाउँपालिका ६ को चोमलुङ चोकका स्थानीय आफूहरुमाथि पनि आक्रमण हुने हो कि भन्ने त्रासमा छन् ।

गएको बुधबार साँझ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन दर्जन बढी गाडीमा सयौं युवा चोकमा प्रवेश गरे । त्यसै क्रममा उनीहरुले सानो पसलमा चटपटे खाएर बसिरहेका स्थानीय युवतीहरुलाई भोट के मा भने ? सूर्यमा भन्छन् भन्ने अपेक्षाका साथ नारा लगाएको भएपनि युवतीहरुले ‘घण्टी’मा भनिदिए । त्यसपछि युवाहरु भाउन्न भए र महिलाहरुमाथि भनाभन गर्दै जाइलागे । त्यो दृश्य खिच्न पुगेका संचारकर्मी अर्जुन आचार्यमाथि उनीहरुले आक्रमण गरे ।

त्यो घटनाको साक्षी रहेकी पसलकी संचालक रिता धिमाललाई अहिले पनि डर लाग्छ । एमाले निकट युथ भोलेन्टियर्सका सदस्यहरुले त्यसबेला आफूहरुलाई आक्रमणको लागि झम्टिएको र पत्रकार कुटिएको विषय उनलाई झलझली छ ।

‘यहाँ केही बहिनीहरु चटपटे खान आएका थिए । भोट माग्न आउने भाइहरुले भोट केमा हाल्ने भन्दा उनीहरुले ‘घण्टी’ मा भन्छौँ भने । त्यसपछि एमालेका भाइहरुले तिम्रो घण्टी, भन्दै मुख छाड्दै गए । उनीहरुले औँला देखाउँदै गएपछि झगडा सुरु भयो । पत्रकार भाइले भिडियो खिच्दै गर्दा उनीहरुले लछारपछार गरेर गाडीमा हालेर लगे । हामी त काम गर्ने मान्छे, डर त लाग्छ नै, भरे केही गर्छन् कि भन्ने त्रास छ,’ उनले भनिन्।

घटनाको प्रत्यक्षदर्शी पुष्पा राईले आक्रमणबारे बताउँदै भनिन्, ‘त्यहाँ ५–१० मिनेटसम्म कुटपिट भयो । पत्रकार भाइलाई ६–७ जना मिलेर घेरेर हाने । उनीहरुले भिडियो डिलेट गर भन्दै मोबाइल खोसे, मोबाइल लक भएकाले डिलेट गर्न सकेनन् र सडकमै बजारे । पत्रकारले गुहार माग्दा पनि कसैले बचाउन सकेनन्, सबै आफ्नै धुनमा थिए ।’

वृद्ध अवस्थाकी बेदमायाँ मुखियाले भनिन्, ‘मैले माथिबाटै देखेँ, पत्रकार भाइलाई कसरी लछारपछार गरेर कुटे । किन मान्छे कुटेको हो भन्दै हामी गयौँ तर उनीहरुले कसैको कुरा सुनेनन् । भोट माग्न आउनेले यसरी मान्छेलाई कुट्दै हिँडेपछि हामी कसरी सुरक्षित हुने ?’

स्थानीय विष्णु श्रेष्ठले राजनीतिक दलको व्यवहारमाथि प्रश्न उठाए । उनले भोट माग्नेहरुले नम्र हुनुको सट्टा धाकधम्कीले भोट मागेको भन्दै असुन्तुष्टि पोखे । ‘भोट त मायाले, हात जोडेर माग्ने हो नि । जनतालाई थर्काएर, औँला देखाएर कहाँ भोट आउँछ ? पत्रकारलाई यसरी कुट्नु भनेको त अति नै भयो । उनीहरुले त गल्ती महसुस गरेर जनतासँग माफी माग्नुपर्ने हो, तर उल्टै संरक्षण भइरहेको छ,’ उनले भने ।

त्यस्तै धनु श्रेष्ठले भनिन् ‘तिनीहरुले मतदातालाई भोट हाल नत्र यस्तो गर्छु भन्दै धम्काएका छन् । चेलीबेटीमाथि हातपात गर्न खोज्नु र पत्रकारलाई निर्घात कुट्नु राम्रो कुरा होइन । यस्तो असुरक्षित वातावरणमा हामीले कसरी स्वतन्त्र रुपमा भोट हाल्ने ? ।’

त्यस दिनदेखि गाउँमा त्रास फैलिएको स्थानीय महेन्द्र बस्नेत बताउँछन् । ‘गाउँमा एकदमै असुरक्षा महसुस भएको छ । पत्रकारमाथि त यस्तो हुन्छ भने हामी सर्वसाधारण त कतिखेर कता कुटिने हौँ भन्ने डर छ । एउटा मतदाताले स्वेच्छाले भोट हाल्न पाउनुपर्ने अधिकारको यहाँ ठाडो उल्लंघन भएको छ । गाउँ पुरै हल्लिएको छ, सबै डराएका छन्,’ उनले भने ।

घटना भएको लामो समय बितिसक्दा पनि आक्रमणकारी खुलेआम हिँडिरहनु र पत्रकारको मोबाइल फिर्ता नहुनुले स्थानीय प्रशासनको भूमिकामाथि पनि शंका उब्जिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपीशर्मा ओलीले सार्वजनिक मञ्चबाट शुक्रबार असुरक्षाको अवस्था रहेको आफैं बताए । तर, उनकै अघिपछि हिँड्ने दस्ताले गरेको आक्रमणले झापा ५ का मतदातामा कति असुरक्षा होला ? त्यो अनुमान भन्दा बाहिरको विषय हो ।

गौरीगञ्ज गाउँपालिकामा रिपोर्टिङकै लागि पुगेका अरु संचारकर्मीलाई पनि एमालेको युथ भोलेन्टियर्सका कार्यकर्ताले हप्किदप्की गरेको बताउँछन् । ‘सार्वजनिक इस्यु बनाउन नचाहेको मात्रै हो । हामी माथि पनि आक्रमणको प्रयास भएको छ,’ एक संचारकर्मीले भने ।

अर्का संचारकर्मीमाथि शुक्रबार दिउँसो पनि भोलेन्टियर्स फोर्सका सदस्यहरुले आक्रमणको प्रयास गरेका थिए । समाचार संकलनको क्रममा सो क्षेत्रमा पुगेका संचारकर्मी उत्तम पोखरेलले सर्वसाधरणमा युथ भोलेन्टियर्सले अनावश्यक दबाब र धम्की दिने गरेको आफूले थाहा पाएको बताए ।

‘यहाँ अर्को पक्षको भोट माग्दै गरेको भिडियोहरु टिकटक, फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालमा हाले भने ती स्थानीयलाई भिडियो हटाउन र नहटाए जे पनि हुनसक्ने भन्दै धम्की दिने गरेको पाइयो,’ पोखरेलले भने, ‘यस्ता घटनाहरू धेरै छन् । उनीहरु मतदाताको घरमै पुगेर पनि धाक धम्की दिइरहेका छन् ।’

सुरक्षा स्रोतले पनि एमालेको भोलेन्टियर्स फोर्सले आफू अनुकूल परिणाम नआउन सक्ने देखिए जे पनि गर्नसक्ने अवस्था रहेको बताएको छ । त्यसका लागि उच्च सतर्कता अपनाइएको उक्त स्रोतको दाबी छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख किशोर लम्सालले भने सुरक्षाको वातावरण मजबुद रहेको र निर्वाध ढंगले मतदाताले मत हाल्न पाउने वातावरण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।