लोड हुँदैछ...

मेनु

निर्वाचनमा सञ्चारकर्मीमाथिको भौतिक आक्रमणप्रति सरोकारवालाको गम्भीर चिन्ता

निर्वाचनमा सञ्चारकर्मीमाथिको भौतिक आक्रमणप्रति सरोकारवालाको गम्भीर चिन्ता

इटहरी । आसन्न निर्वाचनको सन्दर्भमा रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूमाथि हुन सक्ने भौतिक आक्रमणको विषयलाई लिएर सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सुनसरीको इटहरीबाट सञ्चालित प्रदेश खबर डटकमले शनिबार आयोजना गरेको निर्वाचन विशेष अन्तरक्रियामा सहभागी पत्रकार तथा अधिकारकर्मीहरूले पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणले प्रेस स्वतन्त्रता र पत्रकारको जीवन रक्षामा ठुलो चुनौती थपेको बताएका हुन्।

कार्यक्रममा बोल्दै विराटनगरका पत्रकार किशोर बुढाथोकीले निर्वाचनको समयमा पत्रकारहरू सबैभन्दा बढी जोखिममा रहने बताए। केही दिनअघि झापामा रिपोर्टिङका क्रममा एमाले निकट युथ भोलेन्टियर्सका युवाहरुले पत्रकार अर्जुनकुमार आचार्यमाथि भएको कुटपिटको घटनालाई स्मरण गर्दै उनले भने, ‘पत्रकार सुरक्षाको अवस्था अहिले निकै चिन्ताजनक छ। झापाको घटना प्रतिनिधि मात्र हो, यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर नहुनु दुःखद छ।’

त्यसैगरी, उदयपुरका पत्रकार अञ्जनि कुमार घिमिरेले फिल्डमा खटिने पत्रकारहरू कुनै पनि बेला भौतिक आक्रमणको निशानामा पर्न सक्ने भन्दै विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए। चुनावी माहोलमा हुने भिडभाड र आवेशका कारण पत्रकारहरू असुरक्षित बन्दै गएको उनको भनाइ थियो।

प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेले यस पटक निर्वाचन सुरक्षाको नेतृत्व नेपाली सेनाले गरेकाले पत्रकार र सुरक्षाकर्मीबीच समन्वयको अभाव हुन सक्ने र त्यसले रिपोर्टिङमा थप कठिनाइ ल्याउन सक्ने धारणा राखे। उनले पत्रकारहरूलाई आफ्ना परिचयपत्र र सवारी पास दुरुस्त राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन सचेत रहन आग्रह गरे।

तेह्रथुमका पत्रकार प्रकाश पाक्सावाले सुरक्षाकर्मी नै असुरक्षित महसुस गरिरहेको अवस्थामा फिल्डमा खटिने पत्रकारहरू झनै जोखिममा रहेको उल्लेख गरे। उनले रिपोर्टिङको क्रममा हुनसक्ने सम्भावित मुठभेड र आक्रमणबाट जोगिन सामूहिक सुरक्षाको अवधारणा अपनाउनुपर्ने बताए।

प्रदेश खबरका प्रधान सम्पादक पवन अधिकारीले निर्वाचनको समयमा सत्यतथ्य सूचना सम्प्रेषण गर्ने पत्रकारमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि घातक भएको टिप्पणी गरे। उनले पत्रकार र पत्रकारिताको रक्षाका लागि सङ्घ–संस्थाले राज्यका निकायहरूसँग प्रभावकारी समन्वय गर्नुपर्ने र पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता हुनुपर्ने माग गरे।

कार्यक्रममा पत्रकारहरूको भौतिक सुरक्षालाई ध्यानमा राख्दै प्रदेश खबरमा कार्यरत संवाददाताहरूलाई सुरक्षा ज्याकेट र परिचयपत्र वितरण गरिएको थियो। उक्त अन्तरक्रियामा कोशी प्रदेशका १४ वटै जिल्लाका संवाददाताहरूले आ–आफ्नो क्षेत्रमा पत्रकारहरूले भोगिरहेका सुरक्षा चुनौतीका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा इटहरी इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि शङ्कर गुरागाईँ लगायतले पनि पत्रकारको सुरक्षा र निष्पक्ष सूचना प्रवाहको महत्त्वमाथि प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।