विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षा तयारीको अन्तिम ‘मिसन’ पूरा भएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी गरी ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सुरक्षा समितिको बैठकले संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरी सोहीअनुसार सुरक्षा फौज तैनाथ गरेको छ ।
प्रहरीले प्रदेशका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ स्थानलाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष निगरानी बढाएको छ । विशेषगरी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह बीच प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नं. ५ लाई प्रहरीले ‘हाइ–प्रोफाइल’ संवेदनशीलतामा राखेको छ ।
मनोनयन दर्ताका दिन झापा–५ मा एमाले र रास्वपा कार्यकर्ताबीच भएको सामान्य झडप र एउटा पार्टी कार्यालयमा भएको ढुंगा प्रहारको घटनालाई मध्यनजर गर्दै त्यहाँ थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले भने, “झापा–५ मा राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यान छ । त्यहाँको सम्भावित तनावलाई आकलन गरेर हामीले विशेष सतर्कता अपनाएका छौँ । हाल त्यहाँको स्थिति पूर्ण नियन्त्रणमा छ ।’’
डिजिटल चुनौती रोक्न ‘साइबर डेस्क’
यसपटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ । “सामाजिक सञ्जालमार्फत एकैछिनमा माहोल बिगार्ने प्रयास हुन सक्छ,’’ डीआईजी घिमिरेले भने, “त्यसैले हामीले प्रदेशस्तरमै ‘साइबर डेस्क’ स्थापना गरेर डिजिटल गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेका छौँ ।’’
प्रहरीका अनुसार निर्वाचनका लागि सशस्त्र प्रहरी बलका तर्फबाट २ हजार ५६१ नियमित र ५ हजार ६४९ निर्वाचन प्रहरी पनि खटिएका छन् । प्रदेशमा ३५ लाख ७४ हजार २८६ मतदाताका लागि ४ हजार २७० मतदान केन्द्र निर्धारण गरिएको छ ।
डीआईजी घिमिरेले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा घेरा मजबुत बनाइएको दाबी गरे । “उम्मेदवारी दर्ताका दिन झापामा देखिएको सामान्य तनावबाहेक अन्यत्र कुनै गम्भीर घटना भएका छैनन्,“ उनले भने, “समग्रमा सुरक्षा अवस्था सन्तोषजनक छ, मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरेका छौँ ।’’
प्रहरीले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा प्राकृतिक चुनौती बढी हुने देखिएछ । ‘ हिमपात, वर्षा र चिसो मौसमका कारण यातायात अवरुद्ध हुन सक्छ । केही स्थानमा सञ्चार सम्पर्क नै नहुने अवस्था छ, जसका लागि स्याटेलाइट फोनको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ,’’ डिआइजी घिमिरले भने ।
कोशी प्रदेशको भारतसँग ४२७ किलोमिटर र चीनसँग २५८ किलोमिटर सिमाना जोडिएको छ । सीमा क्षेत्र सुरक्षाका लागि झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग काउन्टर–पार्ट बैठक सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।