सर्लाही । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोक सेवा परीक्षाको ‘वैकल्पिक’ सूचीमा रहेका प्रतिस्पर्धीले नै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सफल उम्मेदवारको हत्या गरेर रिक्त हुने पदमा आफू नियुक्त हुने मनसायका साथ योजनाबद्ध रूपमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई सार्वजनिक गरेको छ ।
यसरी भएको थियो हत्या
प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३४ वर्षीय गणेशकुमार महतो हुन् । महतो र मृतक यादव दुवैले गत वर्ष मधेश प्रदेश लोक सेवा आयोगको सहायक पाँचौँ तह (सब–इन्जिनियर) पदको परीक्षा दिएका थिए । उक्त परीक्षामा यादव सफल भएर २०८१ फागुन ४ गते नियुक्तिमा सिफारिस भएका थिए भने महतो एक्लै वैकल्पिक सूचीमा परेका थिए ।
प्रचलित कानुनी प्रावधान अनुसार, नियुक्त भएको उम्मेदवारको एक वर्षभित्र मृत्यु भएमा वा पद रिक्त भएमा वैकल्पिक सूचीमा रहेको व्यक्तिले नियुक्ति पाउने मौका रहन्छ । सोही प्रावधानको फाइदा उठाउन महतोले सिफारिस भएको एक वर्ष पुग्नै लाग्दा फागुन ३ गते यादवको हत्या गरेको प्रहरीको दाबी छ ।
अनुसन्धानका क्रममा महतोले यादवसँग लोक सेवाको अन्तर्वार्ताका बेला नै चिनजान गरेको र आफ्नो नाम राकेश यादव भनेर झुठो परिचय दिएको खुलेको छ । उनले यादवसँग निरन्तर सम्पर्कमा रही विश्वास जितेका थिए ।
हत्याका लागि महतोले दसैँअघि नै आफ्ना भाइ २२ वर्षीय विजयकुमार महतोलाई पेस्तोल किन्न ८० हजार रुपैयाँ दिएका थिए । घटनाको दिन फागुन ३ गते महतो आफ्ना साला चन्द्र किशोर सिंह कुशवाहासँग भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मलंगवा पुगेका थिए । उनले ह्वाट्सएप कलमार्फत यादवलाई डेरा बाहिर बोलाए र गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको थियो ।
हत्यामा प्रयोग गरिएको पेस्तोल घटनाको चार दिनपछि मलंगवा ७ स्थित निर्माणाधीन मन्दिरमा एक बालकले फेला पारेका थिए । सो पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा ती बालक समेत घाइते भएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल रौतहटको बागमती नदी किनारबाट बरामद गरेको छ । यस्तै, तीन थान मोबाइल र गोलीको खोका समेत बरामद भएको छ ।
यस गम्भीर घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले गरेको थियो । पक्राउ परेका महतो दाजुभाइ र साला कुशवाभाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।