लोड हुँदैछ...

मेनु

निर्वाचन आचारसंहिता विपरीतका सामग्रीमा कडाइ

निर्वाचन आचारसंहिता विपरीतका सामग्रीमा कडाइ

विराटनगर । होली पर्वको पूर्वसन्ध्यामा राजनीतिक सन्देश र नेताहरूको तस्बिर अंकित टी–सर्टहरू बजारमा बिक्रीका लागि ल्याइएपछि प्रहरीले मोरङ र झापाबाट धमाधम जफत गर्न थालेको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन र सुरु हुन लागेको मौन अवधिलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता उल्लंघन हुने जोखिम देखिएपछि प्रहरीले यस्तो कदम चालेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र अभियानका नेता बालेन शाह (बालेन्द्र) को नाम तथा तस्बिर जोडिएका टी–सर्टहरू नियन्त्रणमा लिइएको हो ।

हालसम्म मोरङ र झापाका विभिन्न स्थानबाट १ हजार ७ सय ६२ थान टी–सर्ट तथा भेस्ट जफत भइसकेको छ ।

झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलहरूबाट २ सय ६२ थान टी–सर्ट जफत गरिएको छ । ती सामग्रीमा ‘अब कि बार, बालेन सरकार’ र ‘यसपालिको होली बालेनसँग’ जस्ता नाराहरू लेखिएका थिए ।

सबैभन्दा बढी बिर्तामोड क्षेत्रबाट सामग्री बरामद भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका इन्सपेक्टर रुपेश राई नेतृत्वको टोलीले बिहीबार दिउँसो बिर्तामोडका सनाया कलेक्सन, दुर्गा इन्टरप्राइजेज, निकिता भेराइटिज र मामा कलेक्सनबाट ८७ थान टी–सर्ट जफत गरेको थियो । यस्तै, बिर्ता बजारका विभिन्न पाँचवटा पसलबाट थप ६८ थान सामग्री बरामद गरिएको छ ।

मेचीनगरको काँकडभिट्टाबाट ४३ थान, धुलाबारीबाट १७ थान, दमकबाट २१ थान र बुद्धशान्तिबाट २६ थान टी–सर्ट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

झापाको तुलनामा मोरङको विराटनगरबाट अझ ठूलो परिमाणमा यस्ता सामग्री बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरका विभिन्न स्थानबाट रवि र बालेनको संयुक्त तस्बिर छापिएका १ हजार ५ सय थान भेस्ट तथा टी–सर्ट जफत गरेको छ ।

यस वर्ष फागुन १८ गते होलीकै दिनदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ भने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । एसएसपी थापाले मौन अवधिमा यस्ता सामग्रीले अप्रत्यक्ष रूपमा मतदातालाई प्रभाव पार्ने र प्रचारप्रसारको माध्यम बन्न सक्ने भएकाले पूर्वसावधानी स्वरूप सामग्री नियन्त्रणमा लिइएको बताए ।

निर्वाचन आचारसंहिताले मौन अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचार सामग्री उत्पादन, प्रदर्शन वा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

प्रहरीले व्यापारी तथा सर्वसाधारणलाई आचारसंहिताको पूर्ण पालना गर्न र यस्ता सामग्री उत्पादन वा बिक्री नगर्न सचेत गराएको छ । बजार अनुगमनलाई अझ तीव्र बनाइने र उल्लंघन गर्नेमाथि कानुनी कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।