लोड हुँदैछ...

मेनु

मोरङको सुन्दरहरैँचामा एक वृद्ध मृत फेला

मोरङको सुन्दरहरैँचामा एक वृद्ध मृत फेला

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ठडिया चोकनजिकै एक जना वृद्ध मृत फेला परेका छन् । मृत भेटिनेमा सुन्दरहरैँचा–७ का करिब ६५ वर्षीय लोकबहादुर भुजेल रहेका छन् ।

ठडिया चोकबाट करिब ५ सय मिटर पूर्व सडक किनारमा शुक्रबार बिहान ११ः३० बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक भुजेलको दुवै खुट्टामा चोट लागेको र घटनास्थलको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार भुजेल परिवारमा एक्लै बस्दै आएका थिए । उनले प्लास्टिक, बोतल र कागज सङ्कलन गरी कबाडीलाई बेचेर आफ्नो गुजारा चलाउँदै आएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले घटनाको प्रकृतिले सवारी दुर्घटनाको सङ्केत गरे पनि ठक्कर दिने सवारीसाधनको भने पहिचान हुन नसकेको जानकारी दिए ।

‘सवारीको ठक्करबाट भुजेलको मृत्यु भएको जस्तो देखिन्छ,’ डीएसपी चौधरीले भने, ‘दुर्घटना गराएर फरार रहेको सवारीसाधनको पहिचानका लागि खोजी कार्य तीव्र पारिएको छ ।’

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा विस्तृत अनुसन्धानपछि मात्रै वास्तविक तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds