लोड हुँदैछ...

मेनु

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न रोक

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको फागु पूर्णिमा (होली पर्व) मा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम राख्न होलीमा हुने भीडभाडजन्य गतिविधिमा कडाइ गरिएको हो ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘‘खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरू नगर्नरनगराउनु हुन सम्बद्ध सबैमा अनुरोध छ ।’’

प्रशासनले होली पर्वलाई चुनाव प्रचारप्रसारको माध्यम बनाउन सक्ने भन्दै राजनीतिक गतिविधिमा समेत विशेष निगरानी बढाएको छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन र त्यस्ता सामग्री अंकित झोला बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

विशेषगरी होलीलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारको तस्विर अंकित कपडाहरूको प्रयोगमा कडाइ गरिने सूचनामा उल्लेख छ ।
यस्तै, होली पर्वलाई सभ्य र मर्यादित बनाउन प्रशासनले सर्वसाधारणमा अपिल गरेको छ । कसैको इच्छा विपरीत रंग, अबिर दल्ने, लोला हान्ने वा बाटो हिँड्ने व्यक्तिलाई दुःख दिने जस्ता अवाञ्छित कार्यहरू नगर्न प्रशासनले सचेत गराएको छ । यदि प्रशासनको निर्देशन विपरीत कार्य गरेमा कानुन बमोजिम कडा कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds