विराटनगर । मोरङको जहदा गाउँपालिकामा सञ्चालित ७ दिने मिथिला चित्रकला प्रशिक्षण तालिम बिहीबार सम्पन्न भएको छ । लोपोन्मुख बन्दै गएको मिथिला कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त तालिम जहदा–३ स्थित बभनटोली (साहुटोल) मा रहेको सामुदायिक भवनमा सञ्चालन गरिएको थियो ।
तेली कल्याण समाज नेपाल अन्तर्गत तेली साह समाज, जहदाको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा फागुन ८ गतेदेखि सुरु भएको तालिम १४ गते सम्पन्न भएको हो । तालिममा स्थानीय ३१ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले यस्ता सीपमूलक तालिमले सांस्कृतिक पहिचान जोगाउनुका साथै युवाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्ने बताए । उनले मिथिला कला मधेसको गौरव भएको उल्लेख गर्दै यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए ।
तालिमका क्रममा १० जना अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई मिथिला चित्रकलाको इतिहास, यसको सांस्कृतिक महत्त्व र व्यावहारिक चित्रांकन सीपबारे प्रशिक्षण दिएका थिए । ७ दिनसम्म चलेको सघन प्रशिक्षणमा सहभागीहरूले मौलिक शैलीका चित्रहरू कोर्न सिकेका छन् ।
समापन समारोहमा प्रशिक्षक श्रीमती बसुन्धरा झाले तालिमको उपलब्धिवारे जानकारी दिँदै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको बताइन् । समाजका अध्यक्ष सोहित कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेली समुदायका विभिन्न विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकृति, धर्म, लोकजीवन र नारी संवेदनालाई जीवन्त रंग र रेखामार्फत अभिव्यक्त गरिने मिथिला चित्रकला पछिल्लो समय पुस्तान्तरण नहुँदा संकटमा पर्दै गएको छ । यस्ता प्रशिक्षणले स्थानीय युवायुवतीलाई सीपयुक्त बनाउनुका साथै पुर्ख्यौली कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।