बिराटनगर । नेकपा (एमाले) की अग्रज नेतृ तथा कोशी प्रदेशसभाकी पूर्व सांसद बसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । बिहीबार मोरङ क्षेत्र नं. ५ मा आयोजित एक कार्यक्रमका बीच उनले रास्वपाको झण्डा ओढेकी हुन् ।
उनलाई रास्वपा मोरङ–५ की नेता तथा गत प्रतिनिधिसभा सदस्य निर्वाचनकी उम्मेदवार आशा झाले पार्टीको साधारण सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरिन् । एमालेमा लामो समयदेखि सक्रिय रहेकी प्रभावशाली नेतृ यादवको बहिर्गमन र रास्वपामा प्रवेशलाई मोरङको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टी प्रवेशपछि बोल्दै पूर्व सांसद यादवले मुलुकमा परम्परागत राजनीतिको विकल्प खोज्ने समय आएकाले आफूले रास्वपा रोजेको स्पष्ट पारिन् । उनले भनिन्, “अहिलेको अवस्थामा जनताले पारदर्शी कार्यशैली र जवाफदेही नेतृत्व खोजिरहेका छन् । देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता महसुस गर्दै मैले यो निर्णय लिएकी हुँ ।”
सोही कार्यक्रममा यादवसँगै जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवसहित अन्य विभिन्न राजनीतिक दल आबद्ध नेता तथा कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेताहरूले अबिर र टीका लगाएर स्वागत गरेका थिए ।
रास्वपा मोरङ–५ का स्थानीय नेताहरूले बसन्तीदेवी यादव जस्तो अनुभवी र वरिष्ठ नेतृको आगमनले पार्टीको संगठन विस्तारमा थप ऊर्जा थपेको बताएका छन् । यस प्रवेशले आगामी दिनमा स्थानीय राजनीतिक समीकरणमा समेत नयाँ परिवर्तनको संकेत दिएको दाबी रास्वपाको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।