लोड हुँदैछ...

मेनु

रञ्जितलाई फोन गरेर प्रचण्डले भने– ‘हल्लाको पछि नलाग्नुस्, जित्ने गरी मैदानमा उत्रनुस्’

रञ्जितलाई फोन गरेर प्रचण्डले भने– ‘हल्लाको पछि नलाग्नुस्, जित्ने गरी मैदानमा उत्रनुस्’

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने र पछि नहट्ने स्पष्ट संकेत दिएको छ । सो क्षेत्रका उम्मेदवार रञ्जित तामाङलाई बिहीबार टेलिफोन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रचारमा ढुक्क भएर लाग्न र जित हासिल गर्ने गरी मैदानमा उत्रन निर्देशन दिएका हुन् ।

केही दिनयता सामाजिक सञ्जाल र राजनीतिक बजारमा झापा–५ मा अन्य दलसँग ‘लेनदेन’ हुन लागेको भन्दै फैलिएको हल्लालाई प्रचण्डले सिधै खारेज गरिदिएका छन् ।

उम्मेदवार तामाङका अनुसार प्रचण्डले टेलिफोनमा स्पष्ट शब्दमा भनेका छन्— “बाहिर बजारमा के हल्ला छ, त्यतातिर ध्यान नदिनुस् । झापा–५ मा हाम्रो कसैसित अलायन्स (गठबन्धन) हुँदैन र छैन पनि । हामी दृढताका साथ अगाडि बढ्छौँ, तपाईं ढुक्कले चुनाव लड्नुस् ।”

प्रचण्डसँगको संवादपछि उत्साही देखिएका तामाङले पार्टी नेतृत्व चुनावप्रति प्रतिबद्ध रहेको बताए । उनले भने, “अध्यक्षसँग भर्खरै कुरा भयो । उहाँले कुनै पनि शक्तिसँग चुनावी सम्झौता नभएको र नहुने स्पष्ट पार्दै पार्टी पंक्तिलाई पूर्ण सक्रियताका साथ परिचालन गर्न भन्नुभएको छ ।”

कुराकानीका क्रममा तामाङले झापाको चुनावी वस्तुस्थितिबारे प्रचण्डलाई ब्रिफिङ गरेका थिए । उनले चुनावी माहोल तताउन पूर्वमा, विशेष गरी झापा–५ मा एउटा ठूलो सभा आयोजना गर्न र त्यसमा प्रचण्ड आफैँ सहभागी हुन आग्रह समेत गरे । “मैले यहाँको रिपोर्टिङ गराएँ र एउटा विशाल जनसभाको खाँचो रहेको बताएको छु,” तामाङले थपे ।

बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले ‘वैदेशिक दलालहरू’लाई परास्त गर्न र संविधान जोगाउन कांग्रेस र एमालेजस्ता पुराना सहयात्रीहरूसँग सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डको सोही भनाइलाई लिएर झापा–५ र दाङ–२ जस्ता क्षेत्रमा कांग्रेस वा एमालेसँग भित्रभित्रै तालमेल हुन लागेको चर्चा सुरु भएको थियो ।

तर, उम्मेदवार तामाङलाई बिहीबार बिहानै फोन गरेर प्रचण्डले ती चर्चा केवल राजनीतिक अड्कलबाजी मात्र भएको पुष्टि गरेका छन् । उनले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ नहुने सन्देश दिँदै चुनावी मोर्चामा कसिलो गरी उभिन बलियो ढाडस दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।