लोड हुँदैछ...

मेनु

फागुन १८ गतेदेखि सिमा नाका बन्द, मतदातानाको दिन सवारी साधन ठप्प

फागुन १८ गतेदेखि सिमा नाका बन्द, मतदातानाको दिन सवारी साधन ठप्प

विराटनगर । निर्वाचन आयोग ले २० फागुन राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी र आयोगबाट पास प्राप्त सवारीबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन २० फागुन मध्यरातदेखि २१ फागुन साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न पाइने छैन। बैठकले मतदान मितिभन्दा ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालय लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका गतिविधि हुन नदिन र उल्लंघन भए तत्काल कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ। १८ फागुन राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न पनि गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ। मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल आवतजावत गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिइनेछ।

आयोगले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमतिपत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।