काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मादक पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। मतदानको सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले यो निर्णय गरेको हो।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकले निर्वाचनलाई स्वच्छ, भरपर्दो र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो कदम चालेको हो। यस निर्णयलाई कार्यान्वयन गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई कडा निर्देशन समेत दिइसकेको छ।
कानुनी रूपमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू गर्नेमाथि तत्काल कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ। मदिरा सेवन वा बिक्री-वितरण गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम स्थलगत कारबाही गरी सोको जानकारी आयोगलाई गराउन ‘जिल्ला आचारसंहिता अनुगमन समिति’ लाई निर्देशन दिइएको छ।
मदिरा निषेधसँगै आगामी फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा समेत पूर्ण रोक (मौन अवधि) लाग्नेछ। साथै, मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, सुरक्षा निकाय आदि) र पास प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइनेछ। सवारी साधनमाथिको यो प्रतिबन्ध फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म लागू हुने आयोगको सूचनामा उल्लेख छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।