काठमाडौं । देशभर चुनावको पारो तातिरहेको छ । उम्मेदवारहरू घरदैलोमा छन्, दलहरू रणनीति बनाउन व्यस्त छन् । तर, नेपाली राजनीतिका ‘चतुर खेलाडी’ मानिने पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने चुनावी मैदान छाडेर विदेश लागेका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको उडानमार्फत देउवा सुटुक्क सिंगापुर प्रस्थान गरेका हुन् । स्वास्थ्य उपचारलाई मुख्य कारण देखाइए पनि चुनावको मुखमा देउवाको यो ‘एक्जिट’लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मैदानबाट टाढिँदै देउवा
पार्टीको विशेष महाधिवेशनपछि कांग्रेसको कमान्ड गगन थापाको हातमा पुगेसँगै देउवा पछिल्लो समय राजनीतिक परिदृश्यमा खासै सक्रिय थिएनन् । यसपटक त उनी चुनावी दौडमा उम्मेदवार समेत छैनन् । झण्डै तीन दशकदेखि उनको राजनीतिक किल्ला मानिएको डडेल्धुरा यसपटक उनले नैनसिंह महरलाई सुम्पिएका छन् । आफ्नो क्षेत्रमा समेत उम्मेदवार नरहेका देउवा चुनावको यो निर्णायक घडीमा देशमै नरहनुले उनी राजनीतिबाट क्रमशः ‘रिटायरमेन्ट’ तर्फ मोडिएको सङ्केत गर्छ ।
पुरानो चोट र नयाँ यात्रा
जेनजी (Gen-Z) आन्दोलनका क्रममा भएको कुटपिटपछि देउवाको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । त्यसबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए । सोही चोटको फलोअपका लागि उनी अहिले विदेशिएको बताइएको छ ।
चुनावको मुखमा पार्टीका शीर्ष नेताहरूले जिल्ला-जिल्ला पुगेर कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्ने बेला देउवा भने केही सहयोगीका साथ सिंगापुर उडेका हुन् । कांग्रेसभित्र नयाँ नेतृत्व आएसँगै ‘मौन’ बसेका देउवाको यो विदेश भ्रमणले चुनावी माहोलमा कस्तो असर पार्छ, त्यो त परिणामले नै बताउला । तर, यतिबेला भने चर्चा एउटै छ— “कांग्रेस चुनावी युद्धमा होमिँदा, पूर्व कमान्डर भने उपचारको बहानामा सिंगापुरतिर !”




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।