विराटनगर । झापामा संगठित रूपमा ठगी धन्दा चलाइरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ६ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनीहरूले नक्कली नोटको बिटो र सरकारी छाप तथा दस्तखत किर्ते गरी बनाइएका कागजातहरू प्रयोग गरेर मानिसहरूलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको प्रहरीको दाबी छ ।
फागुन १२ गते साँझ ६ बजेको समयमा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका दुईवटा भारतीय नम्बर प्लेटका गाडीहरूलाई सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वाटर गण भद्रपुरले शंकास्पद अवस्थामा फेला पारेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापालाई जिम्मा लगाइएपछि यस गिरोहको पर्दाफास भएको हो ।
प्रहरीका अनुसार यो गिरोहले अत्यन्तै चलाखीपूर्ण तरिकाले ठगी गर्ने गरेको पाइएको छ। उनीहरूले नोटको आकारका सादा कागजका २३७ वटा बिटोहरू तयार पारेका थिए । ती बिटोहरूको माथि र तल भने सक्कली नोट राखेर मानिसहरूलाई झुक्याउने गर्थे ।
उनीहरूले सर्वसाधारणलाई “हामीले व्यापारमा लगानी गरेर कमाएको ठूलो रकम नेपालको कानुनी अड्चनका कारण जफत भएको छ, सो रकम छुटाउन पेनाल्टी तिर्न केही रकम आवश्यक छ” भन्दै प्रलोभन देखाउने गरेका थिए। विश्वास दिलाउनका लागि उनीहरूले मेचीनगर–४ स्थित एक होटलमा २१ वटा टिनका बाक्साहरूमा ती नक्कली नोटका बिटोहरू राखेर भिडियो र फोटो खिची सामाजिक सञ्जालमार्फत पीडितहरूलाई पठाउने गरेको अनुसन्धानमा खुलेको छ ।
बरामद गरिएका सामग्रीहरूः
प्रहरीले मेचीनगर–४ आमडाँगीस्थित लुकाएर राखिएको स्थानबाट, २१ वटा टिनका बाक्साहरू, २३७ बिटो नोटको आकारका सादा कागज, नेपाल सरकारको निशान छाप र सरकारी कार्यालयका किर्ते कागजातहरू, नेपाल प्रहरीको नक्कली परिचय पत्र, नोटरी पब्लिकबाट प्रमाणित गरिएका जस्ता देखिने नक्कली दस्ताबेजहरू, भारतीय नम्बर प्लेटका दुईवटा विलासी गाडीहरू, ठगीमा प्रयोग गरिएका विभिन्न मोबाइल फोनहरू बरामद गरेको छ ।
पक्राउ परेका सातै जनालाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ‘लिखत सम्बन्धी कसुर’ र ठगी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको झापा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरूमध्ये एक महिला समेत रहेकी छन् ।
प्रहरीले यस गिरोहबाट ठगिएका कोही भएमा तत्काल जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय यस्ता गिरोहले अन्य धेरै व्यक्तिहरूलाई पनि ठगेको हुन सक्ने प्रहरीको अनुमान छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।