लोड हुँदैछ...

मेनु

राजनीतिमा झुटको सहारा

गुरुराज घिमिरेले भनेजस्तै घिनाघाट–विराटचोक ४ लेन सडक महेश आचार्यले नै बनाएका हुन् ?

गुरुराज घिमिरेले भनेजस्तै घिनाघाट–विराटचोक ४ लेन सडक महेश आचार्यले नै बनाएका हुन् ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ४ मा राजनीतिक सरगर्मी मात्र बढेको छैन, विकास निर्माणका आयोजनालाई लिएर झुटो श्रेय लिने होडबाजी नै चलेको छ । यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं उम्मेदवार गुरुराज घिमिरेले प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको ‘घिनाघाट–विराटचोक ४ लेन सडक’ आफ्नो पार्टीले बनाएको भनी गरेको दाबीले स्थानीय जनतालाई चकित तुल्याएको छ ।

के भने घिमिरेले ?
चुनावी प्रचारका क्रममा विभिन्न टोल सभाहरूलाई सम्बोधन गर्दै घिमिरेले यो सडकको इतिहासलाई नै बंग्याउने प्रयास गरेका छन् । उनले भनेका छन्, “४० सालभन्दा अगाडि यो क्षेत्रको अवस्था कस्तो थियो ? म झोराहाटबाट विराटनगर जाँदा झन्डै डेढ घण्टा लाग्थ्यो, कच्ची बाटो थियो । यो ४ लेनको बाटो नेपाली कांग्रेसको सरकारले सुरु ग¥यो । यसै क्षेत्रका नेता महेश आचार्य अर्थमन्त्री हुँदा यो बाटो निर्माणको प्रक्रिया अघि बढेको हो ।” उनले आफ्नो भाषणमा सडक, बिजुली र सञ्चारको सबै जस कांग्रेसलाई मात्र दिँदै वर्तमान विकासमा अरूको भूमिकालाई पूर्णतः नकारेका छन् ।

के हो वास्तविकता ?
गुरुराज घिमिरेले जतिसुकै आकर्षक भाषण गरे पनि घिनाघाट–विराटचोक सडकको आधिकारिक दस्तावेज र इतिहासले उनको कुरालाई पुष्टि गर्दैन । यो सडक कुनै संघीय सरकार वा कांग्रेस नेतृत्वको सरकारको पालामा सुरु भएको आयोजना नभई, संघीयता कार्यान्वयनपछि बनेको कोशी प्रदेश (तत्कालीन प्रदेश नं. १) सरकारको पहिलो ‘प्रदेश गौरवको आयोजना’ हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको तर्फबाट तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले यसलाई गौरवको योजनामा समेट्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई मूर्तरूप दिन मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदी र प्रदेश सभा सदस्य विजय विश्वास थारुले निरन्तर दबाब र पहल कदमी लिएका थिए । सुरुमा मुख्यमन्त्री राई यो योजनामा पूर्ण सहमत नभए पनि विजय विश्वासले एमाले नेता राजकुमार ओझाको साथ लिएर मुख्यमन्त्रीलाई मनाउन सफल भएका थिए ।

२२.७ किलोमिटर लामो यो ४ लेन सडकको शिलान्यास २०७६ साल भदौ ३० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले ग्रामथानको नेताचोकमा गरेका थिए । सुरुमा १ अर्ब ४० करोडमा सम्झौता भएको यो आयोजना सम्पन्न हुँदा कुल १ अर्ब ६२ करोड खर्च भएको थियो । श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण जेभीले यसको निर्माण गरेका हुन् । यो सडक निर्माण हुँदा प्रदेशको नेतृत्व हिक्मतकुमार कार्कीले सम्हालिसकेका थिए ।

स्थानीयको आक्रोशः ‘महेश आचार्यले पुल समेत बनाएनन्’
गुरुराज घिमिरेले कांग्रेस र महेश आचार्यको नाम जोडेर जस लिन खोजेपछि झोराहाटका स्थानीयहरू आक्रोशित बनेका छन् । ग्रामथानका झलक कुमार भगट भन्छन्, “मोदीले जित्नुभन्दा अगाडि यो सडकको हविगत के थियो, दुनियाँलाई थाहा छ । पटक–पटक देशको अर्थमन्त्री भएका महेश आचार्यले घिनाघाटमा एउटा पुल समेत बनाइदिएनन्, बाटोमा गोरुगाडा हिँडाउन पनि मुस्किल थियो । अहिले बनेको चिल्लो सडकलाई हामीले बनाएको भन्दै भाषण गर्नु झुटको खेती बाहेक केही होइन ।”

अमनलाल मोदी र विजय विश्वास जस्ता युवा नेताहरूको भिजन र प्रदेश सरकारको लगानीमा बनेको यो सडकले विराटनगर र विराटचोकलाई मात्र जोडेको छैन, बीचका ग्रामीण बस्तीहरूलाई सहरीकरणमा रूपान्तरण गरिदिएको उनीहरुको स्पष्ट बुझाइ छ ।

निर्वाचनको मुखमा मतदाता रिझाउन अरूको पसिना र मेहेनतमाथि आफ्नो झन्डा गाड्ने राजनीतिक संस्कारले जनतामा भ्रम त छर्न सक्छ, तर तथ्यहरू कहिल्यै मेटिँदैनन् । घिनाघाट–विराटचोक सडकको वास्तविक हिरो को हुन् भन्ने कुरा स्थानीयले भोगेको हिलो र धुलोको इतिहासले प्रस्ट पारिसकेको छ । घिमिरेको यो ‘श्रेय चोरी’ को प्रयासलाई मोरङका सचेत मतदाताले कसरी लिनेछन्, त्यो फागुन २१ ले नै बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।