लोड हुँदैछ...

मेनु

‘विरोधी पनि नेकपाको जनमत बढेको स्वीकार्न बाध्य’–प्रचण्ड

‘विरोधी पनि नेकपाको जनमत बढेको स्वीकार्न बाध्य’–प्रचण्ड

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीको पक्षमा अप्रत्याशित जनमत सिर्जना भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित बुद्धिजीविहरुसँगको छलफलमा उनले पार्टीको बढ्दो सक्रियता र प्रभावका कारण कट्टोर विरोधीहरु समेत नेपाल कम्युनिष्ट पार्टीको जनमत बढिरहेको स्वीकार्न बाध्य भएको बताए । उनले कतिपय अनुसन्धान रिपोर्टहरुले नेकपाले प्रत्यक्षतर्फ ६५ देखि ७० सिटसम्म जित्ने प्रक्षेपण गरेको उल्लेख गर्दै जनतामा पार्टीप्रति उत्साहजनक आकर्षण देखिएको जिकिर गरे ।

संयोजक प्रचण्डले नेपालको इतिहासमा पहिलो पटक २५–२६ वटा साना–ठूला कम्युनिष्ट समूहहरु एकताबद्ध भएको र ती सबै अहिले निर्वाचनमा सक्रिय रहेको बताए । “हाम्रो जस्तो सक्रियता र एकता अहिले अरु कुनै पार्टीमा देखिएको छैन,” उनले भने, “अहिले देशभरि नै पार्टी र नेतृत्वप्रति जनतामा ठूलो भरोसा छ, जसले गर्दा विरोधीहरु पनि हाम्रो शक्ति बढिरहेको मान्न बाध्य भएका छन् ।” उनले आगामी निर्वाचनमा मुख्य चार शक्ति— नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा हुने भए पनि बाँकी रहेको केही दिन राम्रोसँग खट्न सके आफ्नो पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताए ।

अन्य राजनीतिक दलहरुसँगको सम्बन्ध र समन्वयको विषयमा बोल्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियाको रक्षाका लागि हिजोका सहयात्री दलहरु नेपाली कांग्रेस र एमालेसँग संवाद र सहकार्य जारी राख्नुपर्ने आवश्यकता औंल्याए । “सिंहदरबारदेखि सबै जलाउने दलालहरुबाट देश बचाउन कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ, किनकि हिजोका हाम्रा सहयात्री तिनै हुन्,” उनले प्रष्ट पारे । यद्यपि, वर्तमान राजनीतिक संकट निम्त्याउन उनीहरुको पनि कमजोरी रहेको भन्दै त्यसको खण्डन र आलोचना पनि जनताको बीचमा लैजानुपर्ने उनको धारणा थियो ।

निर्वाचनलाई एक प्रकारको ‘जनमत संग्रह’ को संज्ञा दिँदै प्रचण्डले यो चुनाव देशलाई खरानी पार्नेहरु र देश बचाउनेहरुबीचको लडाइँ भएको बताए । उनले राष्ट्रको स्वतन्त्रता, स्वाधिनता र एकताको पक्षमा उभिएकाले नै नेकपामाथि अहिले कसैले आक्रमण केन्द्रित गर्न नसकेको दाबी गरे । उनले थप्दे भने, “अहिलेको स्थितिमा यो राष्ट्रलाई एकताबद्ध राख्न सक्ने र सरकारलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्ने अनुभवी र स्वच्छ छवि भएका नेताहरुको पार्टी नेकपा नै हो भन्ने कुरा स्थापित हुँदै गएको छ ।”

छलफलका क्रममा प्रचण्डले बुद्धिजीविहरुलाई चारवटा मुख्य भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले लेख, रचना र अन्तर्वार्ताका माध्यमबाट पार्टीको पक्षमा वैचारिक जनमत निर्माण गर्न, निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन भूमिका खेल्न, संयुक्त वक्तव्यमार्फत निर्वाचनको महत्वबारे अपिल गर्न र मतदान केन्द्रहरुमा खटिने जनशक्तिलाई प्रशिक्षित गर्न बुद्धिजीविहरुलाई निर्देशन दिए । उनले निर्वाचन प्रक्रिया धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै यसका लागि बुद्धिजीविहरुले व्यक्तिगत र संस्थागत दुवै रूपमा आवाज उठाउनुपर्ने बताए । देशको रक्षा र देशभक्त वामपन्थीहरुको एकताका लागि यो निर्वाचन निर्णायक हुने उनको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।