लोड हुँदैछ...

मेनु

दमकको चिया पसलदेखि गौरीगञ्जको टोल –टोलसम्म मतदाता फकाउन आज दिनभर मैदानमा केपी ओली

दमकको चिया पसलदेखि गौरीगञ्जको टोल –टोलसम्म मतदाता फकाउन आज दिनभर मैदानमा केपी ओली

झापा ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै गृहजिल्ला झापामा चुनावी घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुँदैछन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने तालिका रहेको छ ।

बिहान ९ः३० बजे दमक–९ स्थित चिया दोकानमा पुगेर उनले स्थानीय मतदातासँग चिया पिउँदै मनका कुरा सुन्ने कार्यक्रम छ । नेता र जनताबीचको दूरी मेटाउन भन्दै उनले चिया पसलबाटै आजको अभियान सुरु गर्न लागेका हुन् । दमकको कार्यक्रम सकिएलगत्तै ओली दक्षिणी क्षेत्र गौरीगञ्ज प्रस्थान गर्नेछन् । एमाले झापाका जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज विशेषगरी गौरीगञ्जमा केन्द्रित हुनेछन् । त्यहाँ उनले लगातार ७ घण्टा लगाएर १२ वटा टोलका मतदातालाई भेट्ने कार्यतालिका छ ।

बिहान ११ बजेदेखि सुरु हुने गौरीगञ्जको भेटघाट अभियान बेलुकी ५ बजेसम्म चल्नेछ । यस क्रममा उनले गौरीगञ्ज–५ का शैँय्या टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारका मतदातासँग अन्तरक्रिया गर्नेछन् ।
गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा पनि ओली पुग्नेछन् । यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा समेत मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।

यसअघि पनि पटक–पटक आफ्नो क्षेत्रका मतदातासँग संवाद गरिसकेका ओलीले आजको भेटमा मुख्यतया स्थानीय समस्या, विकासका आवश्यकता र मतदाताका गुनासाहरू सुन्ने बताइएको छ । मतदाताका समस्यालाई नजिकबाट बुझ्ने र ती समस्या समाधानका लागि ठोस प्रतिबद्धता जनाउने ओलीको लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले टोल–टोलमा पुगेर मतदातालाई रिझाउन थालेपछि झापा–५ को चुनावी सरगर्मी अझै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।