लोड हुँदैछ...

मेनु

बालेनले आफूहरुलाई बाइपास गरेको भन्दै रास्वपाका कार्यकर्ता असन्तुष्ट

बालेनले आफूहरुलाई बाइपास गरेको भन्दै रास्वपाका कार्यकर्ता असन्तुष्ट

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा चुनाबी लहर देखिएको अवस्थामा आन्तरिक असन्तुष्टि पनि एकपछि अर्को सार्वजनिक भइरहेको छ । पार्टीका संस्थापकमध्येकै कतिपय नेताहरुले आर्थिक अनियमितता, पार्टी सञ्चालन पद्दति र पारदर्शिताको विषयमा प्रश्न उठाउँदै पार्टी छाडिरहेका छन् ।

भावी प्रधानमन्त्रीको घोषणा गर्दै झापा ५ बाट रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार बनाएकोमा शाहको कार्यशैलीको कारण झापा ५ मा पनि असन्तुष्टि बढिरहेको छ । खासगरी पार्टीका कार्यकर्तासँग समन्वय नगरी आफ्नै सचिवालयबाट मात्र चलेको र पार्टींको कार्यालयमा रविको तस्बिर नराखेको विषयमा रास्वपाका कार्यकर्ता असन्तुष्ट सुनिन थालेका छन् ।

२०७९ सालमा सोही क्षेत्रबाट उम्मेदवार बनेका तथा हाल रास्वपाको कोशी प्रदेश सदस्य एवं कानुन विभाग प्रमुख रहेका सुरेशकुमार पोखरेलले बालेनको शैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। २०७९ मै आफूले र पार्टीले क्षेत्रमा राम्रो त पाप्त गरेको भएपनि त्यो संगठनलाई बालेनले बेवास्ता गरेको गुनसाो गरे ।

‘मैले ल्याएको प्रत्यक्षतर्फको मत र पार्टीले प्राप्त गरेको समानुपातिक मत हेर्नुहोस् । समानुपातिकमा रास्वपा यहाँ दोस्रो शक्ति थियो। त्यो मत संगठन, कार्यकर्ता र रवि लामिछानेको नेतृत्वप्रतिको विश्वासका कारण आएको हो’ उनले भने, ‘आज त्यही आधारमाथि उभिएर बालेन आएका छन् । तर, पुराना कार्यकर्तालाई योजनाबद्ध रूपमा बाइपास गरिँदैछ।”

पार्टी निर्माणमा खटिएकालाई ‘शत्रुजस्तो व्यवहार’ गरिएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका छन् । “हामीले पसिना बगाएर बनाएको संगठनमाथि लोकप्रियताको राजनीति हाबी भएको छ,” उनले भने। पोखरेलले बालेन अवसरवादी भएको टिप्पणी गरे । ‘मैले टिकट पाउनुपर्छ भन्ने हैन । तर, हिजो दुःख गरेर पार्टी उकासेकालाई शत्रुजस्तो व्यवहार गरिएको छ,’ उनले भने ।

पोखरेलका अनुसार २०७९ को प्रत्यक्ष र समानुपातिक मत, त्यसपछि थपिएको समर्थन, संगठन विस्तार र जनतामा जगाइएको आशाका कारण ‘रास्वपाबाट उठ्दा झापा–५ मा जसले पनि जित्ने’ अवस्था थियो । उनी थप्छन्, ‘त्यही अवसर खोजेर बालेन आएका हुन् । काठमाडौंमा जोखिम देखिएपछि जित्ने आकलन गरेर झापा रोजे ।’

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा रास्वपाका उम्मेदवार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । समानुपातिकतर्फ भने रास्वपाले १८ हजार २०५ मत ल्याउँदै दोस्रो शक्ति बनेको थियो ।

रास्वपाले पहिलोपटक चुनावमा भाग लिँदा पार्टीलाई उत्कृष्ट परिणाम दिलाउन सफल भएका पोखरेल अहिले चुनावी चर्चा र अभियानमा मौन छन् । उनीजस्ता कैयौं नेता कार्यकर्ता चुनावी अभियानमा सामेल छैनन् ।

पोखरेलले भने, ‘देशभरिबाट साथीहरुले पार्टी छाड्ने क्रम तीव्र भएसँगै चिन्ता बढाएको छ । यो सबैले देखिरहनु भएको छ । नेताहरुको चरित्र र व्यवहार त्यति राम्रो भएन । जान्नेलाई छान्ने भनिएको छ । तर, अवसरवादीलाई जान्ने भनेर भन्ने कि विभिन्न ठाउँबाट उछिट्टिएकालाई रु मैले कुरा बुझिरहेको छैन ।’

बालेनसँगै सती जाने नाममा पार्टीबाट देश, जनता र झापा–५ का मतदातामाथि अन्याय भइरहेको प्रष्ट हुने पोखरेलको भनाई छ । ‘पुराना नेता कार्यकर्तालाई बालेन आएपछि शत्रुको जस्तो व्यवहार गरिएको छ । विभिन्न किसिमका अवसरवाद र चलखेलले काम गरिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘यसले देश, जनता र पार्टीलाई संकटमा पार्छ । बालेनका नाममा झापा–५ का मतदातामाथि ठूलो घात हुँदैछ ।’

बालेनको नाम बेचेर जनतालाई ठूलो भ्रममा पारिएको बताउँदै पोखरेलले मतदाताको आशामाथि घात गर्नु देशलाई बर्बादीतिर लैजानु भएको बताए । ‘पार्टी हाँक्नेहरुको मानसिकता, व्यवहार, सोच र चरित्र सुध्रिएन भने देश ठूलो संकटमा फस्छ । यो सबैले बेलैमा बुझ्न जरुरी छ । आम नागरिकले नेताहरुमाथि दबाब सिर्जना गर्नुपर्छ,’ पोखरेलले भने ।

पुरानालाई पाखा लगाउँदै ‘लागेको फल खान’ बालेन आएको उनको तर्क छ । ‘बालेन साह केपी ओलीलाई ‘डाउन’ गर्न आएका हैनन् । लडिसकेको केपी ओलीलाई लडाएको देखाउन र जनतामा भ्रम छर्न आएका हुन् । यो कुरा सचेत नागरिकले बुझिसकेका छन् । हामी बुझाउँदै पनि छौं । यहाँको भूगोल नै नबुझेका बालेन झापालाई माया गर्न आएकै हैनन् भनेर झापा–५ ले बल्ल बुझ्दैछ,’ पोखरेल भन्छन् ।

समानुपातिक मतले झापा–५ मा रास्वपाको बलियो ‘ग्राउन्ड’ भएकै
कारण आएको पोखरेलको भनाइ छ । “प्रत्यक्षमा उम्मेदवार तेस्रो भएपनि समानुपातिकमा हामी दोस्रो थियौँ। त्यो आधारमाथि आज बालेन उभिएका छन्’, उनले भने, ‘तर, त्यो संगठनलाई बेवास्ता र अपमान भएको छ ।’

‘यो क्षेत्रमा अहिलेसम्म पाइलै नटेकेका बालेन ‘टुरिस्ट’ बनेर आए । मेयरमा जिताउने काठमाडौंलाई बेवास्ता गर्ने उनले झापाको एकरति माया गर्दैनन्,’ पोखरेलले भने, ‘अवसर खोज्दै हिँड्ने व्यक्तिले राष्ट्रमाथि ठूलो घात गर्छन् । त्यसको उदाहरणका रुपमा जेनजी आन्दोलनलाई हेरे पुगिहाल्छ ।’

बालेनले फागुन २१ गते हुने निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ताकै दिनदेखि स्थानीय पार्टीसँग खासै समन्वय नगरेको कार्यकर्ताहरुले बताएका छन् । अघिल्लो साता झापा आएका उनी सार्वजनिक सेड्युल नदिई सीमित टोलीसहित घरदैलोमा निस्किएका थिए । “केही सीमित व्यक्तिलाई लिएर हिँड्ने र लामो समयदेखि क्षेत्रमा दुःख गर्नेहरुलाई पाखा लगाउने काम भइरहेको छ,” स्थानीय कार्यकर्ताको गुनासो छ ।

झापा–५ मा एमाले अध्यक्ष ओली स्वयं घरदैलोमा सक्रिय छन्। एमालेका स्थानीय नेताहरू ओलीको सक्रियताले माहोल अनुकूल बनेको दाबी गर्छन्। रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनालको एमाले प्रवेशलाई पनि राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। तर, पार्टी सभापति रवि लामिछाने पक्षधरहरू भने पार्टी स्थापना र विस्तारमा लामिछानेको भूमिकालाई ओझेलमा पार्ने प्रयास भइरहेको बताउँछन्। “पार्टीको पहिचान रविसँग जोडिएको छ। त्यो पहिचानलाई किन बाइपास ?” एक नेताले भने ।

त्यसो त रवि मंगलबार इटहरीको कार्यक्रममा सहभागी हुन झापा हुँदै आएका थिए । उनी दमक आइपुग्दा बालेन भने इटहरी आइसकेका थिए । दमकमा दुबै नेताले सम्बोधन गर्ने बताइएकोमा
रविले मात्र सम्बोधन गरे । आफ्नै क्षेत्रमा सभापति आउँदा बालेन ‘गयल’ हुनु संयोग मात्र नभएको टिप्पणी भइहरेको छ ।

लामिछाने इटहरीमा आयोजना गरिएको प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्न मंगलबार बिहान झापाको चन्द्रगढी विमानस्थलमा उत्रिएका थिए । विमानस्थलबाट बिर्तामोड, दमक लगायतका क्षेत्रमा सम्बोधन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर, वरिष्ठ नेता शाह सोमबार नै इटहरी आइससकेका थिए । साह इटहरी गएको झापा ५ का रास्वपाका नेता तथा कार्यकर्तालाई पत्तो पनि थिएन ।

रास्वपा झापा–५ का एक नेताले बालेनको चुनावी कार्यक्रमका बारेमा पार्टीमा पूर्वछलफल नहुने बताए । उनले भने, ‘वरिष्ठ सभापतिको चुनावी कार्यक्रम उहाँको सचिवालयले बनाउँछ । हामीलाई थाहा हुँदैन ।’

रास्वपा झापा(५ का क्षेत्रीय सभापति भेषराज भट्टराईले वरिष्ठ नेताको चुनावी कार्यक्रमको तालिका पार्टीले नभई उनकै सचिवालयले बनाउने स्वीकार गरे । उनले भने, ‘कार्य तालिका आएपछि सोही अनुसार पार्टी परिचालन हुने गरेको छ ।’

झापा–५ मा चुनावी प्रचारका राखिएका पोस्टर र प्रचार सामाग्रीमा पार्टीका सभापतिको तस्बिर पनि प्रयोग भएको छैन । अन्य क्षेत्रका उम्मेदवारले बालेन र रवि दुबैको फोटो राखेर चुनाब प्रचार गरिरहेका छन् । तर, झापा ५ का प्रचार सामाग्री र पार्टी कार्यालयमा शाहको मात्रै फोटो र तस्बिरहरू प्रयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।