लोड हुँदैछ...

मेनु

‘राजनीतिक लोडसेडिङ’ अन्त्य गर्न उज्यालो नेपाल पार्टी : कुलमान

‘राजनीतिक लोडसेडिङ’ अन्त्य गर्न उज्यालो नेपाल पार्टी : कुलमान

धरान । कुलमान घिसिङले देश अहिले ‘राजनीतिक लोडसेडिङ’ र अँध्यारोको अवस्थामा रहेको बताएका छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका पूर्वमन्त्री घिसिङले सुनसरीको धरानमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देशको विविध क्षेत्रमा देखिएको लोडसेडिङ अन्त्य गर्न आफ्नो पार्टी स्थापना भएको जिकिर गरे ।

उज्यालो नेपाल पार्टी छोटो समयमै दर्ता भएपनि बीचमा केही अलमलपछि पुनः सशक्त रूपमा अघि बढेको उल्लेख गरे । ‘उज्यालो नेपाल पार्टीले देशमा बत्ती ल्याएर आएको छ। यो बत्ती अब कहिल्यै निभ्ने छैन, निभ्न नदिन तपाईंहरूको साथ आवश्यक छ,’ उनले भने।

ऊर्जा क्षेत्रको अनुभव स्मरण गर्दै घिसिङले आफ्नो नेतृत्वमा विगतमा लोडसेडिङ हटाइएको, विद्युत् वितरण विस्तार गरिएको, व्यवस्थापन सुधार गरिएको र नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याइएको दाबी गरे। उनले नेपालबाट भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्न सफल भएको प्रसंग उल्लेख गर्दै भने, ‘देशमा केवल विद्युत् होइन, सम्पूर्ण प्रणालीमै लोडसेडिङ छ। त्यो अँध्यारोलाई हटाएर जीवन उज्यालो बनाउन उज्यालो नेपाल पार्टी मात्र सक्षम छ।’

उनले स्वास्थ्य, शिक्षा, सिँचाइ, उद्योग र स्थानीय आर्थिक विकासमा परिणाममुखी लगानी आवश्यक रहेको औंल्याए। चिलिमे हाइड्रोपावर कम्पनीमार्फत स्थानीयलाई सेयर वितरण र रोजगारी सिर्जना गरिएको उदाहरण प्रस्तुत गर्दै आर्थिक रूपान्तरणको आधार तयार भइसकेको बताए।

घिसिङले विकास आयोजनामा प्राथमिकता निर्धारणको अभावलाई समेत प्रश्न गरे। झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर कम प्राथमिकताका संरचना छिटो सम्पन्न भएको उदाहरण दिँदै उनले स्पष्ट र व्यवस्थित लगानी नीति नभएको अवस्था गलत रहेको बताए। ‘सही योजना र दृढ नेतृत्वबिना देशमा विकास सम्भव छैन,’ उनले जोड दिए।

गरिब, सुकुम्बासी, स्वास्थ्य, शिक्षा र उद्योग सुधारमा केन्द्रित एजेण्डा अघि सारेको उल्लेख गर्दै घिसिङले सुनसरी–१ का उम्मेदवार डम्बर लावती ९जेन्टल०लाई विजयी गराएर पार्टीलाई नयाँ शक्ति र वैकल्पिक राजनीतिक विकल्पका रूपमा स्थापित गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।