लोड हुँदैछ...

मेनु

आइलागेपछि रविविरुद्ध जाइलागे देवराज

आइलागेपछि रविविरुद्ध जाइलागे देवराज

झापा । चुनावी मैदानमा उत्रिएका दुई चर्चित पात्र— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र निवर्तमान सभामुख देवराज घिमिरेबीच झापामा वाकयुद्ध सुरु भएको छ । लामिछानेले घिमिरेको कार्यकाललाई लिएर कटाक्ष गरेपछि घिमिरेले पनि ‘इँटाको जवाफ पत्थरले’ दिँदै लामिछानेको नैतिकतामाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

झापामा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै रवि लामिछानेले निवर्तमान सभामुख घिमिरेलाई ‘जनताको आवाज दबाउने’ पात्रको रूपमा चित्रण गरेका थिए । उनले प्रश्न गरेका थिए, ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’

आफूविरुद्ध विषवमन भएपछि मौन बस्नुको साटो घिमिरेले प्रेस नोटमार्फत लामिछानेमाथि कडा प्रतिवाद गरेका छन् । उनले लामिछानेले सस्तो लोकप्रियताका लागि घृणा फैलाएको भन्दै आपत्ति जनाएका छन् ।

‘माइक काट्नु व्यक्तिगत इच्छा होइन, नियम हो’
घिमिरेले संसदीय अभ्यासको सामान्य जानकारीसमेत नभएको व्यक्ति जसरी रवि प्रस्तुत भएको आरोप लगाएका छन् । ‘माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत सनक होइन, यो संसद्को नियमावली र पूर्वनिर्धारित समय अनुसार हुने प्राविधिक कुरा हो,’ घिमिरेले स्पष्ट पारेका छन्, ‘संसद्को अभ्यास गरेर आउनुभएको व्यक्तिले यति कुरा नबुझ्नु उदेकलाग्दो छ ।’

उनले थपेका छन्, ‘म मात्र होइन, उपसभामुख वा सभा सञ्चालन गर्ने अन्य सदस्यहरूले पनि समय सकिएपछि माइक काट्ने अभ्यास छ । यो संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ ।’

‘कानूनी आधार नभएकाले कुन नैतिकताले भोट माग्दै हुनुहुन्छ ?’
रवि लामिछानेले ‘कुन मुख लिएर भोट मागेको’ भन्दै प्रश्न गरेपछि घिमिरेले पनि त्यस्तै शैलीमा जवाफ फर्काएका छन् । घिमिरेले लामिछानेको सांसद पद गुमेको र कानूनी विवादलाई संकेत गर्दै कडा प्रहार गरे ।

उनले सोधेका छन्, ‘रविजी, तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु— आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’

घिमिरेले लामिछानेले जनतालाई भावनामा बहकाएर अफवाह र लान्छानाको राजनीति गरेको आरोप लगाएका छन् । व्यक्तिगत प्रतिशोध साँध्न र सहानुभूति बटुल्न अरूको मानमर्दन नगर्न उनले लामिछानेलाई चेतावनीसमेत दिएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका घिमिरेले लोकतान्त्रिक प्रतिस्पर्धामा एजेण्डा लिएर आउन र घृणा फैलाउने काम बन्द गर्न अपिल गरेका छन् । दुई नेताबीचको यो दोहोरीले झापाको चुनावी माहोल झनै तताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।