लोड हुँदैछ...

मेनु

मोरङ–४ मा रङ्गशाला साझा एजेन्डा : त्रिपक्षीय भिडन्तमा नयाँको चुनौती

मोरङ–४ मा रङ्गशाला साझा एजेन्डा : त्रिपक्षीय भिडन्तमा नयाँको चुनौती

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले मोरङ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी निकै बढाएको छ । विगतमा नेपाली कांग्रेसको गढ मानिने र पूर्व अर्थमन्त्री महेश आचार्यले पटक–पटक प्रतिनिधित्व गरेको यो क्षेत्र पछिल्लो समय कम्युनिष्टहरुको प्रभाव क्षेत्रका रुपमा चिनिन थालेको छ । यस पटक यहाँ तीन मुख्य राजनीतिक दलका ‘हेभीवेट’ उम्मेदवार र एक नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा २०७४ र २०७९ को नतिजालाई निरन्तरता दिँदै ‘ह्याट्रिक’ गर्ने दाउमा माओवादी केन्द्रका अमनलाल मोदी छन् । अर्कातर्फ, कांग्रेसको गुमेको विरासत फर्काउने कसरतमा सोही पार्टीका महामन्त्री गुरुराज घिमिरे लागेका छन् भने एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे यो क्षेत्रलाई आफ्नो राजनीतिक आधार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यी तीनै जना अनुभवी नेतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पूर्व सञ्चारकर्मी सन्तोष राजवंशीले चुनौती दिएका छन् । यद्यपि, रास्वपाका उम्मेदवार राजवंशीले अहिलेसम्म आफ्नो छुट्टै औपचारिक घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् ।

यस पटकको निर्वाचनमा सबै दलहरु एक्लाएक्लै मैदानमा उत्रिएकाले उम्मेदवारका प्रतिबद्धता र एजेन्डाहरु मतदाताका लागि निर्णायक बन्ने देखिन्छ । तीनै जना प्रभावशाली उम्मेदवारका घोषणापत्र हेर्दा विकासका केही साझा एजेन्डा र केही फरक प्राथमिकताहरु भेटिन्छन् । रोचक कुरा के छ भने, विराटनगर–१९ को झापा बैजनाथपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (जीपी कोइराला क्रिकेट स्टेडियम) को निर्माण र स्तरोन्नतिलाई तीनै जना उम्मेदवारले आफ्नो साझा र प्रमुख प्राथमिकतामा राखेका छन् । कांग्रेसका गुरुराज घिमिरेले यसलाई ‘खेलकुद ग्राम’ बनाउने योजना अघि सारेका छन् भने जीवन घिमिरे र अमनलाल मोदीले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

साझा एजेन्डाका रुपमा पूर्वाधार विकास, कृषि सुधार र धार्मिक–सांस्कृतिक पर्यटनलाई सबैले समेटेका छन् । मोरङको मुख्य पहिचानका रुपमा रहेको थारु समुदायको भाषा, संस्कृति र सङ्ग्रहालय संरक्षणमा पनि उनीहरुको एकमत देखिएको छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कुरालाई तीनै जनाले आफ्नो प्राथमिकतामा राखेका छन् । थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा सबै उम्मेदवारले थारु भाषा र ग्रामथानको संरक्षणलाई विशेष जोड दिएका छन् ।

फरक प्राथमिकताका कुरा गर्दा, एमालेका जीवन घिमिरेले स्वास्थ्य र सामाजिक सुरक्षामा बढी जोड दिएका छन् । उनले बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडको अस्पताल स्थापना गर्ने र स्वास्थ्य बीमाको सुविधा १ लाख पुर्‍याउने विशिष्ट योजना ल्याएका छन् । युवा स्वरोजगारीका लागि ‘आइटी हब’ र ‘रोजगार बैंक’ को अवधारणा उनको फरक एजेन्डा हो । यस्तै, कांग्रेसका गुरुराज घिमिरेले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको एजेन्डा बोकेका छन् । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पठनपाठन र डिजिटल शिक्षण सामग्रीमार्फत सरकारी विद्यालयको गुणस्तर निजी सरह पुर्‍याउने उनको मुख्य दाबी छ । कृषि क्षेत्रमा नहरमा पक्की पुल र मल–बीउको सहजतालाई उनले आफ्नो ३९ बुँदे मार्गचित्रमा समेटेका छन् ।

अर्कातर्फ, अमनलाल मोदीले आफ्नो कार्यकालमा भएका कामको विवरणसहित ‘स्मार्ट भिलेज’ र ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकता दिएका छन् । भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनलाई उनले आफ्नो राजनीतिको मुख्य आधार बनाएका छन् । लोहन्द्रा र सिघिया खोलाको स्थायी तटबन्धन र कृषिका लागि डिप ट्युबवेललाई उनले विशेष महत्त्व दिएका छन् ।

समग्रमा, जीवन घिमिरेले स्वास्थ्य र रोजगारीमा, गुरुराज घिमिरेले शिक्षा र आधुनिक पूर्वाधारमा तथा अमनलाल मोदीले खेलकुद, सुशासन र ग्रामीण विकासमा जोड दिएका छन् । पछिल्लो समय सहरी क्षेत्रमा नयाँ राजनीतिक दलप्रति मतदाताको आकर्षण देखिएकाले सन्तोष राजवंशीको उपस्थिति पनि अर्थपूर्ण छ । अनुभवी र प्रभावशाली नेताहरुबीचको यो प्रतिस्पर्धामा विकासका योजना र जनताको विश्वास कसले बढी जित्न सक्छ भन्ने कुरा नै फागुन २१ को नतिजाको मुख्य कडी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds