लोड हुँदैछ...

मेनु

मोरङ-४ का लागि गुरुराज घिमिरेको ३९ बुँदे मार्गचित्र: अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालादेखि डिजिटल शिक्षासम्म

मोरङ-४ का लागि गुरुराज घिमिरेको ३९ बुँदे मार्गचित्र: अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालादेखि डिजिटल शिक्षासम्म

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा होमिनुभएका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको कायापलट गर्ने लक्ष्यसहित ३९ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री समेत रहनुभएका घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मेरुदण्ड मानेर आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे ।

अन्तर्राष्ट्रिय रङ्गशाला र खेलग्राम
घिमिरेको प्रतिबद्धता पत्रमा विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस क्षेत्रलाई ‘खेलकुद ग्राम’ (Sports Village) का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने र खेलाडीहरूका लागि अत्याधुनिक प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना उनले अघि सारेका छन् । यसले यस क्षेत्रलाई खेल पर्यटनको हब बनाउने उनको विश्वास छ ।

शिक्षामा आधुनिकता: सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम र प्रविधि
शैक्षिक सुधारका लागि घिमिरेले विराटनगरका केही वडासहित कटहरी, ग्रामथान र बेलबारीका सामुदायिक विद्यालयहरूमा आमूल परिवर्तनको योजना ल्याएका छन् । विद्यालयहरूमा अङ्ग्रेजी माध्यमको पठनपाठन विस्तार गर्ने, डिजिटल शिक्षण सामग्री र विद्युतीय पुस्तकालयको व्यवस्था गर्दै सरकारी विद्यालयको गुणस्तर निजी सरह पुर्‍याउने उनको सङ्कल्प छ ।

कृषि र पूर्वाधार: सिँचाइ र नदी तटबन्ध
किसानको समस्यालाई केन्द्रमा राख्दै घिमिरेले मोरङ–सुनसरी सिँचाइ आयोजनाको खनार–केरौन खण्डमा पर्ने मूल नहरका विभिन्न स्थानमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । यसका साथै सिँचाइ सुविधा नपुगेका स्थानमा डिप बोरिङको व्यवस्था गर्ने र रासायनिक मल तथा बीउको सहज उपलब्धताका लागि नीतिगत पहल गर्ने उनले बताए । कटहरीस्थित लोहन्द्रा खोलामा पक्की पुल र तटबन्ध निर्माण गरी वर्षेनी हुने डुबानको समस्यालाई स्थायी रूपमा समाधान गर्ने योजना उनकोप्राथमिकतामा छ ।

धार्मिक पर्यटन र सांस्कृतिक पहिचान
स्थानीय सम्पदाको संरक्षणलाई जोड दिँदै घिमिरेले ग्रामथान–५ को सरियाधामी थारु समुदायको सांस्कृतिक केन्द्रलाई सङ्ग्रहालयका रूपमा विकास गर्ने बताए । यस्तै, बेलबारीको ऐतिहासिक धनपालगढी र कटहरीको बाबा बनस्खण्डी मन्दिर क्षेत्रलाई गुरुयोजनासहित धार्मिक पर्यटकीय गन्तव्य बनाइने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य र सामाजिक न्याय
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन बेलबारी–७ बाहुनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशालासहितको सुविधा सम्पन्न बनाउने उहाँको योजना छ । सुकुम्बासी तथा भूमिहीनका लागि व्यवस्थित बसोबासको ठोस योजना कार्यान्वयन गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता समेत उनले बताए ।

१ लाख १९ हजार २ सय ५५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर ४ मा घिमिरेले आफू केवल नारा मात्र नभई कार्यान्वयनयोग्य योजना लिएर जनताको घरदैलोमा आएको बताउनुभयो । संविधान निर्माणमा पार्टीको तर्फबाट नेतृत्वदायी भूमिका खेलेको अनुभव सुनाउँदै उनले अबको समय आर्थिक समृद्धि र विकासको भएको उल्लेख गरे ।

प्रस्तुत ३९ बुँदे योजनाले मोरङ–४ लाई कृषि, शिक्षा र खेलकुदको नमूना क्षेत्र बनाउने दाबी घिमिरेले गरे । चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला सार्वजनिक भएको यो महत्त्वाकांक्षी योजनालाई स्थानीय मतदाताले विशेष चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।