लोड हुँदैछ...

मेनु

गुरुराजको आश्वासनका गफ ':

मोदी र विश्वासको पहलमा बनाएको सडकमा उभिएर विशेषज्ञ अस्पतालको सपना !

मोदी र विश्वासको पहलमा बनाएको सडकमा उभिएर विशेषज्ञ  अस्पतालको सपना !

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले आगामी उपनिर्वाचनको सिलसिलामा मोरङको ग्रामथानमा आयोजित चुनावी सभामा विकासका यस्ता आश्वासनहरू बाँडेका छन्, जसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘सपनाको राजनीति’लाई पनि माथ गर्ने संकेत गरेको छ।

ग्रामथान गाउँपालिका–२, पिण्डरबनीमा आयोजित सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभालाई सम्बोधन गर्दै नेता घिमिरेले ३ वर्षभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणदेखि ग्रामथानलाई ‘मिनी सौराहा’ बनाउनेसम्मका महत्वाकांक्षी योजनाहरू अघि सारेका हुन्।

घिमिरेले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने कुरालाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनले भने, “म जितेर गएको तीन वर्षभित्रै यो रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाएर टेण्डर गराउने प्रतिबद्धता व्यक्त गर्दछु। रंगशाला बनेपछि यहाँ विदेशी खेलाडी आउनेछन्, रिसोर्ट र होटल खुल्नेछन् र युवाहरूले रोजगारीका लागि विदेश जानुपर्ने छैन।”

पर्यटन क्षेत्रमा उनले चितवनको सौराहालाई चुनौती दिने गरी ग्रामथान र कटहरी क्षेत्रलाई ‘मिनी सौराहा’ को रूपमा विकास गर्ने आश्वासन दिएका छन्। थारु जातिको बाहुल्यता रहेको यस क्षेत्रमा थारु संग्रहालय निर्माण गर्ने र यसलाई विश्वकै पर्यटकीय केन्द्र बनाउने उनको दाबी छ।

स्वास्थ्य क्षेत्रमा पनि घिमिरेले ठूला आश्वासन दिएका छन्। ग्रामथान अस्पतालमा एमबिबिएस मात्र नभई विशेषज्ञ (एमडी) डाक्टरहरूको दरबन्दी सुनिश्चित गर्ने र गरिबहरूका लागि सबै उपचार निःशुल्क गराउने उनले बताए। “अस्पताल खोलेर मात्र हुँदैन, त्यहाँ विशेषज्ञ सेवा र निःशुल्क प्रयोगशाला हुनुपर्छ,” उनले भने।

गएको वैशाखमा भएको भनिएको ‘जेन-जी’ (नयाँ पुस्ता) को विद्रोहलाई सम्बोधन गर्दै घिमिरेले आफ्नो पुस्ता विकासका लागि लड्ने अन्तिम पुस्ता हुने र अबको पुस्ताले आन्दोलन गर्नै नपर्ने गरी काम गर्ने बताए। उनले युवाहरूलाई भ्रष्टाचारमुक्त सुशासन र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्ने आश्वासन दिए।

नदी नियन्त्रणदेखि लालपुर्जासम्म
धेरै वर्षदेखि थाती रहेका चिसाङ, लोहन्द्रा र सिङ्गिया खोलाको तटबन्ध निर्माण गर्ने, सुकुम्बासी र ऋषिदेव बस्तीमा ‘जनता आवास’ मार्फत पक्की घर बनाउने र नागरिकताको समस्या सदाका लागि अन्त्य गर्ने जस्ता लोकप्रिय नाराहरूले घिमिरेको भाषण भरिएको थियो।

राजनीतिक विश्लेषकहरू घिमिरेको यो शैलीलाई केपी ओलीको जस्तै ‘भिजनरी तर महत्वाकांक्षी’ शैलीका रूपमा हेरेका छन्। विपक्षीले गर्ने चर्का कुराहरू ‘नक्कली’ भएको दाबी गर्दै उनले आफू पार्टीको महामन्त्री समेत रहेकोले संसदमा आफ्नो कुरा बलियो गरी उठ्ने र ती आश्वासनहरू पूरा हुनेमा मतदातालाई ढुक्क पारेका छन्।

आसन्न निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मतदाता फकाउनका लागि ‘असम्भव’ लाग्ने आश्वासनका पोकाहरू बाँड्न सुरु गरे । सोमबार ग्रामथान गाउँपालिका–२ को वडा पार्टी कार्यालय उद्घाटन र पिडारबनीमा आयोजित घरदैलो कार्यक्रममा घिमिरेले विकासका यस्ता फेहरिस्त सुनाए, जसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पुराना ‘हावादारी’ गफको झल्को दिएको छ।

नेता घिमिरेले सम्बोधनका क्रममा आफू उभिएको सडकको जस लिन आफ्ना नेताको नाम जोड्दै भने, “साथीहरू, यो सडक हेर्नुस्, यो सडक हाम्रा आदरणीय नेता महेश आचार्यले बनाउनुभएको हो। कांग्रेसले हिजो पनि काम गरेको थियो, आज म पनि त्यही विकासको विरासत थाम्न आएको हुँ।” आफ्ना नेताले बनाएको सडकमा उभिएर उनले अगाडि थपे, “पिडारबनी र बेलबारीका जनतालाई उपचारका लागि अब धरान वा काठमाडौँ धाउनु पर्दैन। म यहाँ एमबिबिएस मात्र होइन, त्यो भन्दा माथिल्लो स्तरको विशेषज्ञ चिकित्सकसहितको सुविधासम्पन्न अस्पताल बनाउने ग्यारेन्टी दिन्छु।”

घिमिरेले १८ मिनेट लामो भाषणमा विकासका मुद्दाभन्दा बढी आश्वासनका चाङ लगाए पनि उपस्थित स्थानीयहरूमा भने कुनै उत्साह देखिएन। नेता आउने भनेर झण्डै एक घण्टा कुर्न बाध्य २० जना स्थानीय र उनीसँगै आएका २० जना युवाहरूको समूहमा कुनै चुनावी ऊर्जा देखिँदैनथ्यो। स्थानीयहरूले घिमिरेको भाषणलाई केपी ओलीको ‘घरघरमा ग्यास’, ‘पानीजहाज’ र ‘रेल’ का गफसँग तुलना गर्दै ‘आश्वासनको पोको’ को संज्ञा दिएका छन्। एक स्थानीयले टिप्पणी गरे, “अस्पतालमा सिटामोल नपाउने बेला एमबिबिएस डाक्टर गाउँमा ल्याउँछु भन्नु त चुनाव जित्ने गफ मात्रै हो।”

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङको ग्रामथान गाउँपालिका वडा नं. २, पिण्डरबनीमा आयोजित सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा दिनुभएको भाषणको पूर्ण अंश :

“धेरै धेरै धन्यवाद यस कोणसभाका, कार्यालय समुद्घाटन र कोणसभा कार्यक्रमका संचालक ज्यू।

आउने फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। यो निर्वाचनको सिलसिलामा विभिन्न राजनीतिक पार्टीहरू आफ्ना-आफ्ना उम्मेदवारहरू लिएर जनताको घरदैलोमा आइरहेका छन्। यसैक्रममा नेपाली कांग्रेस पनि आफ्ना उम्मेदवार लिएर घरदैलोमा उपस्थित भएको छ। नेपाली कांग्रेसले चुनावको दौरानमा, चुनावको सिलसिलामा आफ्ना-आफ्ना एजेण्डाहरू, आफ्ना-आफ्ना मुद्दा, आफ्ना-आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको छ।

गत वैशाख २३ र २४ गते नेपालमा ठूलो विद्रोह भयो, त्यसलाई हामी ‘जेन-जी’ (Gen-Z) विद्रोह भन्छौं। जेन-जी भनेको नयाँ पुस्ताका युवा-युवतीहरूको एउटा उमेर समूह हो। जेन-जी भनेको राजनीतिक दल होइन, जेन-जी भनेको कुनै विचार सिद्धान्तमा आबद्ध भएको राजनीतिक पार्टी होइन, तर एउटा उमेर समूहका हाम्रै घरमा भएका भाइबहिनीहरू, छोराछोरीहरू, साना-साना हाम्रा किशोर-किशोरीहरूले यो विद्रोह गरे। विद्रोह किन गरे? नेपालमा भ्रष्टाचार भयो, नेपालमा सुशासन भएन, सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्यो भनेर उनीहरूले विद्रोह गरे। त्यो विद्रोह विशाल विद्रोहमा परिणत भयो र तत्कालीन सरकार चाहिँ हट्यो, संसद विघटन भयो र संविधान एक प्रकारले निष्क्रिय जस्तो भयो र अहिले फागुन २१ गते हामी निर्वाचनको क्रममा छौं, निर्वाचनको प्रक्रियामा छौं।

नेपाली कांग्रेस अहिले नेपाली जनताको घरआँगनमा जनताको समर्थन माग्न, जनतासँग मत माग्न, जनतासँग सहयोग माग्न घरदैलोमा आइरहेको छ। र आज हामी यस ग्रामथान गाउँपालिका वडा नम्बर २ को पिण्डरबनीमा कार्यालय उद्घाटन गरेर आफ्ना विचारहरू यस कोणसभा मार्फत जनसमक्ष राखिरहेका छौं।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, मेरो आवाजको दायरामा रहनुभएका सम्पूर्ण आदरणीय मतदाता साथीहरू, दाजुभाइ दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, नेपाली कांग्रेस पार्टी अरूभन्दा फरक पार्टी हो। नेपाली कांग्रेस पार्टी अरूभन्दा बढी देश र जनताका लागि संघर्ष गरेको पार्टी हो। यो पार्टीले ८० वर्ष अगाडि देखि नेपालको राजनीतिलाई अगाडि बढाइरहेको छ। राणातन्त्रको निरंकुशताको विरुद्धमा यही पार्टी लड्यो, पञ्चायती शासन व्यवस्थाको विरुद्धमा यही पार्टी लड्यो, राजाको निरंकुशताको विरुद्धमा यही पार्टी लड्यो र माओवादी विद्रोहलाई, हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण बाटोमा ल्याउन यही पार्टी लड्यो। नेपालको संविधान निर्माण गर्न यही पार्टी लड्यो, नेपालमा प्रजातन्त्र ल्याउन यही पार्टी लड्यो, नेपालमा जनाधिकार बहाली गर्न यही पार्टी लड्यो। बारम्बारको संघर्षको नेतृत्व गर्यो, अगुवाई गर्यो र नेपाली समाजलाई विकासको बाटोमा अगाडि बढायो।

विकासकै कुरा गर्ने हो भने नेपालमा विकासको प्रक्रियालाई अगाडि बढाउने पार्टी नेपाली कांग्रेस हो। तपाईं-हामीलाई थाहा छ, अघि ४० साल भन्दा अगाडि यो क्षेत्रको अवस्था कस्तो थियो? यो बाटो कस्तो थियो? हामी साइकल लिएर मैले नेता चोकबाट झोवाबनीबाट विराटनगर जाँदा झण्डै झण्डै मलाई डेढ घण्टा लाग्थ्यो। कच्ची बाटो, बर्खाको समयमा खाल्डाखुल्डी र साइकल कुदाउन पनि गाह्रो हुने यो बाटो आज यो अवस्थामा छ। फोर-लेनको बाटो आज हामी हिँडिरहेका छौं। ठूला-ठूला गाडीहरू हिँड्छन्, हिनागाड देखि बिराट सम्म चोक सम्मको बाटो नेपाली कांग्रेसको सरकारले सुरु गर्यो। यसै क्षेत्रका हाम्रा प्रतिनिधि सभाका सदस्य अर्थमन्त्री हुनुभएका महेश आचार्यले यो बाटो निर्माण गर्नुभयो।

यो बाटो मात्रै होइन, यो बाटोको दायाँ-बायाँ रहेका शाखा बाटाहरू पनि हामीले नै विकासको प्रक्रिया सुरु गरेर यी बाटाहरू निर्माण गर्यौं। तपाईं हाम्रो घरआँगनमा टेलिफोन आइपुग्यो, सञ्चारको सुविधा नेपाली कांग्रेसको सरकारले नै सुरु गर्यो। यति मात्रै होइन, बिजुलीका पोलहरू गाउँ-गाउँमा आएका छन्, त्यो बिजुलीका पोलहरूको विस्तार नेपाली कांग्रेसले गर्यो। गाउँ-गाउँमा विद्युतीकरण नेपाली कांग्रेसले गर्यो। हाम्रो घरआँगनमा, हाम्रो टोल समाजमा खानेपानीको चापाकलको पनि समस्या थियो, सुरुमा नेपाली कांग्रेसको सरकारले खानेपानीको सुविधालाई उपलब्ध गराउनका निम्ति केन्द्रको बजेटलाई गाउँ-गाउँमा ल्याउने काम गर्यो।

यति मात्रै होइन, यो क्षेत्रबाट धेरै साथीहरू बैंकिङ क्षेत्रमा रोजगारीमा गए। यो क्षेत्रका धेरै साथीहरूले रोजगारीका अवसर पाए। यही पिण्डरबनी, यही झोराहाट, यही तेतरिया, यही नेता चोक, यही खुनियाकट्टा, यही मिलन चोक, यही बेलबारी क्षेत्रका धेरै साथीहरू रोजगारीमा गए। विराटनगरका साथीहरूले धेरै बैंकमा रोजगारी पाए, वित्तीय संस्थामा रोजगारी पाए। यो क्षेत्रमा एक प्रकारले विकासको प्रक्रिया हामीले नै अगाडि बढायौं। हाम्रै प्रतिले अगाडि बढाउनुभयो। यहाँ विकास अरू कसैले गरेको छैन। अरूले धेरै ठूलो कुरा नगरे हुन्छ, अरूले धेरै चर्को कुरा नगरे हुन्छ। नेपाली कांग्रेसले नेपालमा राजनीति मात्रै गरेन, राजनीतिक प्रक्रियाका लागि, राजनीतिक परिवर्तनका लागि मात्रै संघर्ष गरेन, नेपाली कांग्रेसले विकासका लागि, प्रगतिका लागि, नेपाली जनताको हितका लागि, कल्याणका लागि, युवा रोजगारीको ग्यारेन्टी गर्नका निम्ति नेपाली कांग्रेसले अग्रसर भएर काम गर्यो।

त्यसो भएको हुनाले आदरणीय साथीहरू, मेरो आवाजको दायरामा रहनुभएका यहाँ टाढा-टाढाबाट मेरो विचार सुनिरहनुभएका मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, नेपाली कांग्रेस मैले प्रारम्भमै भनेँ- नेपाली कांग्रेस अरू पार्टी भन्दा फरक पार्टी हो। आज हाम्रो सामु राजनीतिमा दुइटा बाटाहरू छन्। दुइटा बाटो हाम्रो अगाडि छ नेपालको अगाडि। एउटा शान्तिको बाटो, एउटा स्थिरताको बाटो, एउटा विकासको बाटो र अर्कातिर यो अशान्तिको बाटो, अस्थिरताको बाटो, विध्वंसको बाटो, विनाशको बाटो। अब हामीले कुन बाटो रोज्ने? शान्तिको बाटो रोज्ने, स्थिरताको बाटो रोज्ने, विकासको बाटो रोज्ने कि विनाशको बाटो रोज्ने? अशान्तिको बाटो रोज्ने, अस्थिरताको बाटो रोज्ने? हाम्रो अगाडि यही दुइटा छनोट छ।

यो छनोटमा हामीले नेपाली कांग्रेसको पक्षमा किन उभिनुपर्छ, किन मत दिनुपर्छ भने हामी शान्ति चाहन्छौं, हामी विकास चाहन्छौं, हामी स्थिरता चाहन्छौं। नेपालीलाई सुखी, नेपालीलाई धनी र नेपाललाई सम्पन्न बनाउन चाहन्छौं। बेरोजगार युवाहरूलाई रोजगारी दिलाउन चाहन्छौं। खासगरी २३-२४ गतेको जेन-जी विद्रोह पछि युवाहरूले उठाएका कुरा, युवाहरूले उठाएका मुद्दा कि नेपालमा सुशासन होस्, नेपालमा भ्रष्टाचारको नियन्त्रण होस् र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नलागोस् भन्ने जुन युवाहरूको चाहना हो, त्यसलाई हामी सुनिश्चित गर्न चाहन्छौं। युवाहरूको भविष्य नेपालमै सुरक्षित गर्न चाहन्छौं, सुनिश्चित गर्न चाहन्छौं। अब हाम्रो पुस्ता अन्तिम पुस्ता हुनेछ, उसले अब मात्रै विकासका लागि र प्रगतिका लागि अन्तिम लडाइँ लड्नेछ। नयाँ आउने पुस्ताले विकासका निम्ति, रोजगारीका निम्ति र आफ्नो भविष्यलाई सुरक्षित गर्नका निम्ति कुनै पनि लडाइँ लड्नुपर्ने छैन।

नेपालमा शान्ति बहाल रहनेछ, राजनीति स्थिर हुनेछ र विकासको प्रक्रिया अगाडि बढेर नेपाललाई सम्पन्न बनाएर नेपालीलाई सुखी बनाएर हामी अगाडि बढ्नेछौं, नेपाललाई विकसित बनाउनेछौं, यो हाम्रो प्रतिबद्धता हो। त्यसो भएको हुनाले विध्वंस चाहने, अराजकता चाहने, विनाश चाहने शक्तिहरू हाम्रो अगाडि छन्। कुरा मात्रै गर्ने, कुरा चर्का र क्रान्तिकारी गर्ने, कुरा गर्ने र काम चाहिँ नगर्ने प्रवृत्ति हाम्रो अगाडि छ। यो प्रवृत्तिलाई चिन्न सक्नुपर्छ। हाम्रो अगाडिको निर्वाचनबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले के कस्ता काम गरे हामीले केलाउन सक्नुपर्छ, हामीले बुझ्न सक्नुपर्छ र फेरि पनि उनीहरू गुलियो कुरा गरेर, चिल्लो कुरा गरेर, क्रान्तिकारी कुरा गरेर, विकासको नारा दिएर हाम्रो अगाडि आउन सक्छन्। ती सबै नक्कली कुरा हुन्, ती सबै फजुल कुरा हुन्, तिनमा कुनै तर्क छैन, तिनमा कुनै आधार छैन।

त्यसो भएको हुनाले नेपाली कांग्रेसले देशलाई पनि बचाउँछ, नेपाली कांग्रेसले जनतालाई पनि बचाउँछ, गरिबहरूलाई गरिबीबाट मुक्त गराएर सम्पन्न बनाउन चाहन्छ। बेरोजगारहरूलाई रोजगारी दिएर बेरोजगारीबाट मुक्त गराउन चाहन्छ। विकासमा पछाडि परेको गाउँलाई विकास दिएर अगाडि बढाउन चाहन्छ। यहाँ धेरैथरि समस्या छन्। रंगशालाको समस्या छ पिण्डरबनीमा, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैले प्रतिबद्धता व्यक्त गरेको छु। त्यो रंगशालालाई म प्रतिनिधि भएर गएपछि यहाँबाट मैले जितेर गइसकेपछि त्यो रंगशालालाई टेन्डर गराएर मेरो कार्यकाल भित्रै, कम्तीमा तीन वर्ष भित्रै त्यो रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउने मैले प्रतिबद्धता व्यक्त गरेको छु।

आदरणीय साथीहरू, त्यसैगरी चिसाङ देखि लोहन्द्रा देखि सिङ्गिया सम्मको तटबन्धको पनि मैले प्रतिबद्धता व्यक्त गरेको छु। र जुन ग्रामथान अस्पताल छ, यही नजिकै पिण्डरबनीमा, यसमा चाहिँ दरबन्दी एमबिबिएस (MBBS) को त छँदैछ, त्यो भन्दा माथिल्लो दरबन्दी, ल्याबको व्यवस्था, त्यसपछि चाहिँ यहाँको प्राइमरी ट्रिटमेन्ट जति पनि ट्रिटमेन्ट हुन्छ, सरकारी अस्पतालमा हुने ट्रिटमेन्ट उपचार सबै उपचार अस्पताल खोलेर मात्रै हुँदैन, अस्पतालमा उपचार हुनुपर्छ। गरिबलाई निःशुल्क उपचार हुनुपर्छ। ल्याबको व्यवस्था हुनुपर्छ, प्रयोगशालाको व्यवस्था हुनुपर्छ। एमबिबिएसको दरबन्दी मात्रै होइन, एमडी (MD) को दरबन्दी मलाई बाहुनीमा साथीहरूले भन्नुभयो स्वास्थ्य केन्द्रमा एमडीको दरबन्दी चाहिन्छ भन्नुभयो। एमडीको दरबन्दी यहाँ पनि चाहिन्छ। त्यसो भएको हुनाले यो अस्पताललाई स्तरोन्नति गरेर यहाँ उपकरणहरू, यहाँ प्रयोगशालाहरू, यहाँ परीक्षणका सबै सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु।

चिसाङ खोलामा तटबन्धको समस्या छ, सिङ्गिया खोलामा तटबन्धको समस्या छ, लोहन्द्रा खोलामा तटबन्धको समस्या छ। त्यो तटबन्धको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसैगरी यहाँ भूमिहीनहरूको समस्या छ, सुकुम्बासीको समस्या छ, त्यो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नागरिकताको समस्या छ, त्यो नागरिकताको समस्या समाधान गर्न चाहन्छु। महिलाहरूलाई उद्यमशीलतामा लगाउने एउटा पुँजीको अभाव छ, त्यसका निम्ति ग्रामीण विकास बैंक खुलेकै छ तर त्यो भन्दा अतिरिक्त अरू थप चाहिँ पुँजीको प्रवाह गर्ने, महिला दिदीबहिनीहरूलाई सीप विकास तालिम दिलाउने, अन्य प्रकारका व्यावसायिक तालिमहरू दिलाएर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने व्यवस्थाका निम्ति पनि मैले चाहिँ आफ्नो प्रतिबद्धता व्यक्त गर्दछु।

र त्यसैगरी विपन्नहरू, ऋषिदेवहरूको बस्तीमा राम्रा घरहरू छैनन्, घरको अभाव छ। जनता आवास कार्यक्रम यहाँ पार्टीका खास-खास मान्छेहरूलाई छानेर खास-खास व्यक्तिलाई मात्रै दिने गरिकन अगाडिका प्रतिनिधिहरूले यहाँ अगाडि बढाउने काम गरेका छन्। जनताको अधिकार हो राज्यबाट सेवा लिने, त्यहाँ पार्टीको कुरा हुँदैन, राजनीतिक दलको कुरा हुँदैन। जो गरिब छ उसले घरवासको व्यवस्था पाउनुपर्छ, उसले जमिनको व्यवस्था पाउनुपर्छ, त्यहाँ राजनीतिकरण गरिनु हुँदैन। राजनीतिक रङ त्यहाँ लगाउनु हुँदैन। त्यसैले बिना राजनीतिक रङ, बिना राजनीतिकरण, बिना पक्षपात गरिब ऋषिदेवहरूलाई जुन बस्ती छ यहाँ, त्यहाँ चाहिँ जनता आवासको व्यवस्था, जनता आवासको कार्यक्रम ल्याएर आवासको व्यवस्था गराउने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

बेरोजगार युवाहरूलाई यदि रंगशाला बन्यो भने त्यहाँ रोजगारीका अवसरहरू सिर्जना हुन्छन्। त्यो अवसरहरू सिर्जना मात्रै हुँदैन, त्यहाँ पर्यटनको पनि विकास हुन्छ। विदेशी खेलहरू हुन्छन्, विदेशी खेलाडीहरू आउँछन् र आसपासमा होटलहरू खुल्छन्, रिसोर्टहरू खुल्छन्। त्यहाँ रोजगारीको प्रबन्ध हुन्छ। रंगशालामै रोजगारीको अवसर खुल्छ, रोजगारीको ढोका खुल्छ। त्यो व्यवस्था गराउने म दिशातिर अगाडि बढ्छु। धनपाल गढीलाई पूर्वाधारले सम्पन्न गराएर त्यहाँ त्यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपबाट विकास गर्न सकिन्छ। एक हजार वर्ष पुरानो धनपाल गढी आज बेवारिसे भएको छ, त्यहाँ व्यवस्था छैन, भौतिक सुविधा छैन, त्यसलाई भौतिक सुविधा दिलाउने कुरामा म लाग्छु। र यस्ता धेरै कामहरू छन् हाम्रो अगाडि, ती कार्यलाई अगाडि बढाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

यसका लागि नेपाली कांग्रेसले जित्नैपर्छ। नेपाली कांग्रेसले विकासका लागि पनि जित्नैपर्छ, नेपाली कांग्रेसले रोजगारीका लागि पनि जित्नैपर्छ, नेपाली कांग्रेसले राजनीतिक स्थिरताका लागि पनि जित्नैपर्छ, नेपाली कांग्रेसले नेपालको भविष्यलाई चाहिँ अगाडि बढाउन पनि जित्नैपर्छ। यो ग्रामथान थारु दाजुभाइ दिदीबहिनीहरूको समुदायको चाहिँ बाहुल्यता भएको ठाउँ, मिश्रित बसोबास छ अरू जातिको पनि, तर थारु जातिको बाहुल्यता भएको ठाउँ भन्ने मलाई थाहा छ। ती दाजुभाइहरू मेरा आफ्नै दाजुभाइहरू हुन्। उनीहरूको भाषा, धर्म, संस्कृति, परम्परालाई संरक्षण गर्नका निम्ति ग्रामथानमा रहेका सबै ग्रामथानहरूको संरक्षण गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। तेतरियामा एउटा थानको हामीले निर्माण सुरु गरेका छौं। नयाँ वर्षमा थारु दाजुभाइहरूले सिरिया धामीको पूजा गर्नुहुन्छ, आराध्य मान्नुहुन्छ। हामीले सिरिया धामी प्रतिष्ठान दर्ता गरिसकेका छौं, यहीँका साथीहरूले, ग्रामथानकै साथीहरूले दर्ता गरिसक्नुभएको छ। त्यो दर्ता भएको सिरिया धामी प्रतिष्ठानमा हामीले पछाडिको जग्गा पनि खरिद गरेर त्यसलाई एउटा ठूलो संस्थाको रूपमा विकास गर्ने, एम्बुलेन्सको सेवा दिने, त्यहाँ चाहिँ थारु संग्रहालयको रूपमा त्यसलाई विकसित गरेर थारु जातिले लगाउने लुगा, उनीहरूले प्रयोग गर्ने भाँडाकुँडा, उनीहरूले प्रयोग गर्ने हतियार देखि लिएर ऐतिहासिक महत्वका चिजलाई संग्रह गरेर नेपालकै ठूलो संस्थाको रूपमा, नेपालकै थारु जातिको एउटा केन्द्रको रूपमा, एउटा तीर्थस्थलको रूपमा विकास गर्ने मेरो सपना छ। त्यो काम मैले सुरु गरिसकेको छु। म कुनै जनप्रतिनिधि भएको छैन, अरूले गर्ने काम मैले सुरु गरिसकेको छु। मेरो कार्यकालमा तेतरियामा म जितेर गएपछि त्यो संग्रहालयलाई पूर्णता दिने, त्यसलाई कम्प्लिट गर्ने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु।

त्यसैले यो क्षेत्रमा हामीले जितेर गयौं भने विकास पनि आउँछ, रोजगारी पनि आउँछ र यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर यसलाई ‘मिनी सौराहा’ बनाएर, कटहरीलाई मिनी सौराहा बनाएर, ग्रामथानलाई मिनी सौराहा बनाएर विदेशी पर्यटकहरू, स्वदेशी पर्यटकहरू भित्र्याएर यहाँ विदेशी मुद्रा पनि आर्जन गर्ने, अन्य आय आर्जनका अन्य अवसरहरू पनि यहाँ भित्र्याउने योजना मेरो छ। यसका लागि मैले यस क्षेत्रमा पार्टीको तर्फबाट उम्मेदवारी मेरो परेको छ र मलाई तपाईंहरूले विजयी गराएर यो क्षेत्रलाई अगाडि बढाउनका निम्ति, यो क्षेत्रलाई देशमै चिनिएको क्षेत्र बनाउनका निम्ति तपाईंहरूले साथ सहयोग दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, यो क्षेत्रको प्रतिनिधिको रूपमा संसदमा पनि म नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु। तपाईंहरूले देख्नुहुनेछ हाम्रो प्रतिनिधिले हाम्रो क्षेत्रको कुरा गर्यो, यहाँका युवाहरूले देख्नेछन् हाम्रो प्रतिनिधिले हाम्रो कुरा गर्यो, किसानले देख्नेछन् हाम्रो कुरा गर्यो, श्रमिकले देख्नेछन् हाम्रो कुरा गर्यो, महिलाहरूले देख्नेछन् हाम्रो कुरा गर्यो। संसदमा पनि मैले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु। राजनीतिक दलमा पनि, मेरो पार्टीमा पनि मैले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नेछु। पार्टीको पदाधिकारीको नाताले, पार्टीको महामन्त्रीको नाताले पार्टीलाई पनि नेतृत्व गर्छु, यो क्षेत्रलाई पनि प्रतिनिधित्व गर्छु र तपाईंहरूको सेवामा २४ सै घण्टा हाजिर भएर काम गर्नेछु। यही तपाईंहरूका सामु प्रतिबद्धता व्यक्त गर्दै यो कार्यालय हामीले शुभारम्भ गर्यौं, यसबाट यस क्षेत्रको चुनाव प्रचार अभियानलाई हामी अगाडि बढाउनेछौं। यही कुरा गर्दै साथीहरूलाई फागुन २१ सम्म दिनरात नेपाली कांग्रेसलाई जिताउनका निम्ति सक्रिय भएर काम गर्नका निम्ति आग्रह गर्दै यो कार्यालय शुभारम्भ गरेर आजको प्रचार अभियान सुरु गरिरहेका छौं। यसका लागि तपाईंहरूलाई धन्यवाद दिँदै यहाँबाट बिदा चाहन्छु। धन्यवाद, जय नेपाल।”

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।