विराटनगर । मोरङ कटहरी–२ आदर्श टोलकी धनु साह जब थालमा भात खान बस्छिन्, चामलका सितासँगै धुलोको पातलो पत्र जमेको देख्छिन् । घरअगाडि चिल्लो र फराकिलो चार लेनको सडकमा गाडी गुड्ने सपना बुनेकी धनुका लागि अहिले त्यही सडक ‘अभिशाप’ बनेको छ ।
“घरका झ्यालढोका चौबीसै घण्टा बन्द हुन्छन्, तर धुलोलाई केले छेक्दो रहेछ र ? थालमा मात्र होइन, ओछ्यानमा समेत धुलोको तह हुन्छ,” उनी दिक्क मान्दै भन्छिन्, “हामीले विकास मागेका थियौँ, तर उपहारमा रोग र सास्ती पायौँ ।”
विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका यतिबेला निर्वाचनको सरगर्मीले तातिएको छ । उम्मेदवारहरू चिल्ला गाडी र दलबलसहित भोट माग्न घरदैलोमा पुग्दैछन् । तर, कटहरी–२ आदर्श टोलका गुलाम मुस्सिफालाई भने चुनावी नाराभन्दा बढी चिन्ता आफ्नो पसलभित्र छिर्ने धुलोले दिएको छ । कटहरी बजारमा खसीको मासु व्यापार गर्ने गुलामको रोजीरोटी नै संकटमा छ ।
“बाटो भत्काउनुअघि दैनिक ५ वटासम्म खसी बिक्री हुन्थ्यो,” उनी भन्छन्, “अहिले धुलोले गर्दा मासु हेर्नै नसकिने हुन्छ, ग्राहक आउनै छाडे । ७–१० केजी मासु बेच्न पनि मुस्किल छ ।” ६ वर्षदेखि सुरु भएको हाटखोला–रंगेली सडक निर्माण अलपत्र पर्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलादेखि केसलिया खोलासम्मको ४४ किलोमिटर सडक विस्तारका लागि २०७६ सालमा ३ अर्ब ६० करोडमा ठेक्का लागेको थियो । कटहरी खण्डको ६ किलोमिटरको जिम्मा ७६ करोडमा श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो । सम्झौता सकिएको दुई वर्ष बितिसक्दा पनि काम जम्मा २७ प्रतिशत मात्रै सकिएको छ ।
यो सडकले धुलो मात्र दिएको छैन, ज्यान पनि लिइरहेको छ । पछिल्लो २८ महिनामा यस खण्डमा भएका सडक दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने १३९ जना घाइते भएका छन् । सडक नबनेपछि स्थानीयले धान रोपेर र सडक ठप्प पारेर पटक–पटक विरोध जनाए । हालै जिल्ला प्रशासन कार्यालयको पहलमा ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ, तर स्थानीयको कष्ट भने घटेको छैन ।
कटहरी चोकमा जुत्ता–चप्पल सिलाउने अशोक राम मोचे दिनभर मास्क लगाएर काम गर्छन् । “अहिले नेताहरू भोट माग्न आउँछन्, हामी यो सडक देखाउँछौँ,” उनी भन्छन्, “अब आश्वासन दिनेलाई होइन, काम गर्नेलाई मात्र भोट दिने हो ।” कटहरी–१ की प्रमिला देवी कामत पनि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई सोध्ने प्रश्न ठिक्क पारेर बसेकी छिन् । २ दशकदेखि खाजा पसल चलाएकी उनी भन्छिन्, “सडक बनाउन आन्दोलन गर्यौँ, कसैले सुनेनन् । अब उम्मेदवारहरूलाई सोध्छौँ— हाम्रो सडक किन बनाउनुभएन ?। ”

मोरङ–४ यतिबेला राजनीति चासोको रुपमा हेरिएको छ । अघिल्ला दुई निर्वाचनमा वाम गठबन्धनबाट जितेका माओवादी केन्द्रका नेता अमनलाल मोदी यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, यसपटक उनलाई कांग्रेस र एमालेले एक्लाएक्लै चुनौती दिइरहेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे आफ्नो संसदीय यात्रा तय गर्न तल्लीन छन् । प्रखर वक्ताका रूपमा चिनिएका घिमिरेका लागि यो चुनाव राजनीतिक पुनरागमनको परीक्षा हो । अर्कातर्फ, नेकपा एमालेले पूर्वमन्त्री जीवन घिमिरेलाई मैदानमा उतारेको छ । स्थानीय तहको मत परिणामले एमाले यहाँ बलियो देखिए पनि सो मतलाई जोगाउनु उनका लागि मुख्य चुनौती छ ।
यही भिडन्तका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले युवा र असन्तुष्ट मत काट्ने डर ठूला दलहरूमा देखिन्छ । १ लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा हालै भएको ग्रामथान उपनिर्वाचनमा माओवादीले जितेपछि मोदी उत्साहित देखिए पनि नतिजा कसको पक्षमा जान्छ भन्न कठिन छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।