लोड हुँदैछ...

मेनु

रास्वपा मकवानपुरका सभापति पराजुली फर्किए कांग्रेसमा

रास्वपा मकवानपुरका सभापति पराजुली फर्किए कांग्रेसमा

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । हेटौंडामा रास्वपाको जिल्ला सभा भइरहेकै समयमा पराजुलीले आइतबार सर्लाही पुगेर कांग्रेस महामन्त्री गगनकुमार थापाको हातबाट सदस्यता ग्रहण गरेका हुन् । ३० वर्ष कांग्रेसको राजनीति गरेर रास्वपाको जिल्ला नेतृत्व सम्हाल्न पुगेका पराजुलीले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘पुरानो घर’ रोजेका हुन् ।

पराजुलीले पार्टीभित्र सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका छन् । मुख्यगरी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट आफूले टिकट नपाएर २५ वर्षीय प्रशान्त उप्रेतीले पाएपछि उनी नेतृत्वसँग चिढिएका थिए । टिकट नपाएपछि केही समयदेखि उनी कांग्रेसका शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेका थिए ।

२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका पराजुली गत मंसिरमा मात्रै दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा सर्वसम्मत चुनिएका थिए । पश्चिम मकवानपुरमा शालिन र भद्र नेताको छवि बनाएका पराजुलीको बहिर्गमनलाई रास्वपाका लागि जिल्लामा ठूलो क्षतिका रूपमा हेरिएको छ । रास्वपा सभापति रवि लामिछानेले फोन गरेर फकाउने प्रयास गरे पनि उनी अन्ततः कांग्रेसमै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।