लोड हुँदैछ...

मेनु

‘केबलकार र १० महिनामा पुल बनाउँछु भनेर अब जनता ढाँटिदैनन्’: अजम्बर राई

‘केबलकार र १० महिनामा पुल बनाउँछु भनेर अब जनता ढाँटिदैनन्’: अजम्बर राई

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा भोजपुरमा चुनावी सरगर्मी बढेको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा नेकपाका केन्द्रीय नेता अजम्बर काम्माङ राईले विपक्षी उम्मेदवारहरूले जनतालाई असम्भव सपना र गलत तथ्यहरू पस्किएर भ्रमित गरिरहेको बताएका छन् ।

आज भोजपुरको बालंखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले विपक्षीले विकासको नाममा ’केटाकेटी’ कुरा गरिरहेको टिप्पणी गरे । “कोही भन्छन् मलाई जिताउनुस्, १० महिनामा पुल बनाइदिन्छु । कोही विकासको खोलो बगाउँछु भन्छन्, “राईले भने, “ठूला नदीमा पुल बनाउने कुरा केटाकेटीले बाँसको फड्के थापे जस्तो सजिलो छैन । यसका लागि सम्भाव्यता अध्ययन, बजेट र अर्थ मन्त्रालयको अख्तियारी चाहिन्छ भन्ने सामान्य ज्ञान समेत नभएकाहरूले जनता झुक्याइरहेका छन् ।”

नेता राईले विपक्षीले विगतमा पनि जनतालाई यसैगरी भ्रमित पारेको तथ्य स्मरण गराए । उनले २०७० सालको चुनावको उदाहरण दिँदै भने, “त्यतिबेला एकजना उम्मेदवारले तुम्लिङटारदेखि सालपा सिलिचोसम्म केबलकार चलाउँछु भनेर गफ दिए । त्यतिबेला त्यो क्षेत्रमा बिजुलीको पोल समेत गाडिएको थिएन, विद्यार्थीहरू टुकी बालेर पढ्थे । तर, त्यस्ता असम्भव सपना बाँडेर सोझा जनताको भोट लिने काम भयो ।” अहिले पनि १० महिनामा पुल बनाउने र हचुवाका भरमा विकास गर्ने गफ त्यस्तै ‘मिथ्या’ भएको उनले दाबी गरे ।

उनले थपे, “अहिले काठमाडौँमा ५–५ मिनेटको दूरीमा अर्बौँका पुल बन्छन्, तर भोजपुरमा एउटा पुलका लागि जनताले मृगतृष्णा जस्तो १२ वर्ष कुर्नुपर्छ । यो विभेदविरुद्ध म सिंहदरबारसँग औँला ठड्याउन र अर्थ मन्त्रालयसँग जुध्न तयार छु ।”

नेता राईले नेकपा एमालेलाई ‘केपी ओलीको प्राइभेट कम्पनी’ को संज्ञा दिँदै त्यहाँ आन्तरिक लोकतन्त्र मरेको टिप्पणी गरे । उनले एमाले अब कम्युनिष्ट पार्टी नरहेको दाबी गर्दै पुराना दलको विकल्प भन्दै आएका नयाँ शक्तिहरू (रवि लामिछाने र बालेन शाहतर्फ संकेत गर्दै) झन् खतरनाक रहेको बताए । “सहकारीमा जनताको पसिना डुबाउनेहरू र गरिबको झुपडीमा डोजर चलाउनेहरूले देश बनाउन सक्दैनन्,” उनले भने । उनले बालेन शाहलाई ‘मेटा’ (फेसबुक) र ‘डिजिटल वल्र्ड’ को एउटा भर्चुअल उत्पादन भएको तर जनताको वास्तविक पीरमा नरहेको आरोप लगाए ।

नेता राईले आफू र प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राई ‘हल गोरु’ जस्तै मिलेर भोजपुरको बाँझो फुटाउन तयार रहेको पनि बताए । उनले सुत्केरी व्यथाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य, भ्रष्टाचारको अन्त्य र २०४६ पछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे । उनले भने, “म ५ तारे होटलमा पनि सुत्न सक्छु र जनताका लागि ढुङ्गाको सिरानी हालेर चिसोमा पनि रात काट्न सक्छु, यो मेरो सामथ्र्य हो ।”

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोजपुरमा अजम्बर राई काम्माङले एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।