लोड हुँदैछ...

मेनु

निर्वाचनका लागि ३ दिन बिदा दिन सिफारिस

निर्वाचनका लागि ३ दिन बिदा दिन सिफारिस

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।

आयोगले आइतबार सरकारलाई पत्राचार गर्दै मतदानको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको हो। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले निर्वाचनको तयारी र मतदान प्रक्रियालाई सहज बनाउन तीन दिन बिदाका लागि सरकारलाई पत्राचार गरिएको जानकारी दिए ।

आयोगको यो सिफारिसका बारेमा मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते देशभर मतदान हुँदैछ।

यदि सरकारले आयोगको सिफारिस अनुसार निर्णय गरेमा निर्वाचनको समयमा करिब एक साता नै सार्वजनिक बिदा हुने देखिएको छ। यसपटक फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली पर्वको बिदा छ। त्यसको भोलिपल्ट फागुन २० गतेदेखि आयोगले सिफारिस गरेको ३ दिने बिदा सुरु हुनेछ।

यस्तै, फागुन २३ गते शनिबार परेको छ भने २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा छ। यसरी हेर्दा फागुन १८ गतेदेखि २४ गतेसम्म नै लगातार सार्वजनिक बिदा हुने सम्भावना देखिएको छ। यसले गर्दा निर्वाचनका क्रममा मतदाताहरूलाई आफ्नो थातथलोमा पुगेर मतदान गर्न सहज हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।