विराटनगर । विराटनगर–१३ स्थित डीएभी स्कुलले आफ्नो ३१ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । आइतबार विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन विद्यालयका अध्यक्ष सुरेश शर्माले गरे । उद्घाटन मन्तव्य राख्दै अध्यक्ष शर्माले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै आधुनिक प्रविधिसँग जोडेर सीप र संस्कारयुक्त शिक्षा प्रदान गरिरहेको बताए । उनले वर्तमान समयमा शिक्षालाई व्यवहारिक बनाउनुको विकल्प नभएकोमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले शिक्षालाई सीपसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राखे । उनले शिक्षालाई जीवनोपयोगी र उत्पादनमुखी बनाउन प्याब्सनले सधैं जोड दिँदै आएको बताए । “विद्यार्थीले प्राप्त गर्ने शिक्षामा संस्कार झल्कनुपर्छ र त्यसले जीवनका चुनौतीहरू सामना गर्न सघाउनुपर्छ ,” उनले भने ।
त्यसैगरी, विद्यालयका प्रिन्सिपल रमेश मिश्राले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैं कटिबद्ध रहेको बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालयले गुणस्तरीय शिक्षासँगै सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालय परिसरमा दुई दर्जनभन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीहरू आफैंले तयार पारेका फेस पेन्टिङ, चित्रकला तथा विभिन्न खाद्यान्नका स्टलहरू कार्यक्रमको मुख्य आकर्षण बनेका थिए । सोही अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।