लोड हुँदैछ...

मेनु

निर्धारित समयमै निर्वाचन हुनुपर्छ : ओली

निर्धारित समयमै निर्वाचन हुनुपर्छ : ओली

दमक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्।

झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचन रोक्ने प्रयास भइरहे पनि एमाले नअलमलिकन विजयको तयारीमा जुटिसकेको बताए।

ओलीले विगत ६ महिनासम्म निर्वाचनका विषयमा पहल गर्दा कसैले चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव नहुने चर्चा गर्नु गलत भएको टिप्पणी गरे। राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेको उल्लेख गर्दै अब चुनाव सार्ने कुरा स्वीकार्य नहुने उनको भनाइ थियो।

निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गर्दै एमालेले जित्नैपर्ने ओलीले दाबी गरे। विपक्षी दलहरूले झण्डा जलाउने र वातावरण बिथोल्ने प्रयास गरेको आरोप लगाउँदै उनले त्यस्तो गतिविधि निर्वाचनविरुद्धको अपराध भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै ओलीले कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगोमा उम्लिएको दूधझैँ भएको टिप्पणी गरे। जित्न नसक्ने देखेपछि अरूका झण्डा जलाउने र निहुँ खोज्ने क्रियाकलाप सुरु गरेको उनको आरोप थियो।

आफ्नो नेतृत्वको सरकारले हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको, साक्षरता वृद्धि र ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै उनले विकास र समृद्धिका लागि एमाले नै सक्षम शक्ति भएको दाबी गरे। बाल तथा सुत्केरी मृत्युदर घटाउन दुर्गम क्षेत्रबाट हेलिकप्टर उद्धार व्यवस्था सुरु गरिएको पनि उनले स्मरण गराए।

आफूमाथि भइरहेका प्रहारको जवाफ दिँदै ओलीले ६० वर्षको राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी गरे। मिचिएको भूभाग फिर्ता ल्याउन र उत्तरतर्फका नाका खोल्न पहल गरेकै कारण आफू निशानामा परेको उनको भनाइ थियो। देशको सार्वभौमसत्ता र राष्ट्रिय एकताका पक्षमा एमाले दृढ रहेको भन्दै उनले फागुन २१ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।