विराटनगर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने दावी गरे ।
तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै भण्डारीले अझैपनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको बताए । कुनै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न उनले सुझाव दिए।
केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने भण्डारीको भनाइ छ । नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनले बताए । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै भण्डारीले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे।
निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसँग आग्रह गर्दै भण्डारीले केही सञ्चार माध्यमहरूले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उनले त्यसो गर्न नपाइने बताए । आफूले पटक–पटक मत सर्वेक्षण नगर्न आग्रह गरे पनि केही सञ्चार माध्यमहरूले नटेरेको उनको गुनासो छ। आचारसंहिता विपरीतको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी भण्डारीले दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।