नेपालमा “देशको नायक” खोज्ने परम्परा कुनै नयाँ वा आकस्मिक घटना होइन। यो हाम्रो इतिहास, राजनीतिक अभ्यास र सामूहिक मनोविज्ञानसँग गहिरो रूपमा गाँसिएको सामाजिक राजनीतिक प्रवृत्ति हो। जब देश संकटमा पर्छ, शासन प्रणाली फेरिन्छ तर जनताको जीवनस्तर उस्तै रहन्छ। नेपाली जनताले भैरव अर्यालले भनेझैं ‘खोल बदलियो, मोल बदलियो तर सितारको तार उस्तै छ’ भन्ने महशुस गर्छन्।
बिच्छिप्त भई नेपाली समाज एउटै प्रश्नतर्फ फर्किन्छ, “अब देश कसले बनाउँछ ?” यस प्रश्नको उत्तर प्रायः नीति, संस्था वा प्रणालीमा खोजिँदैन। खोजिन्छ— एउटा नाम, एउटा अनुहार, एउटा व्यक्तित्वमा। त्यहीँबाट जन्मिन्छ नायक अझ भनौं ‘राष्ट्र नायक’। तर इतिहासले बारम्बार देखाएको सत्य के हो भने, नायक खोजीले आशा त दिन्छ, तर समाधान दिएको छैन। नायक बदलिन्छ तर जनताको अवस्था उस्तै रहन्छ। निराशा फेरि दोहोरिन्छ र फेरि अर्को नायक खोजिन्छ। यही चक्र नै नेपाली राजनीतिक यथार्थको सबैभन्दा गहिरो विडम्बना हो।
नायक खोजीको मनोविज्ञानः निराशाबाट जन्मिएको आशा हो भन्दा अत्युक्ति नहोला। कमजोर संस्थागत प्रणाली भित्र व्यक्तिमुखी आशालाई यथार्थमा परिणत गर्न सजिलो छैन। नेपालको जस्तो संक्रमणकालीन लोकतन्त्रमा संस्थागत स्थायित्व कमजोर हुन्छ। राज्य व्यवस्थाको एउटा संक्रमणकाल समाप्त हुँदा नहुँदा पुन देश अर्को संक्रमणकालमा धकेलिने गरेको छ। संविधान, कानुन, संरचना त छन्, तर तिनप्रतिको जन विश्वास कमजोर छ वा कमजोर पारिएको छ। सेवा प्रवाह ढिलो छ, न्याय पहुँचबाहिर र ढिलो छ, जवाफदेहिता कमजोर छ। यस्तो अवस्थामा जनताले प्रणालीमाथि होइन, व्यक्तिमाथि भरोसा गर्न थाल्छन्। त्यहीँबाट जन्मिन्छ भाष्य “एउटा बलियो मान्छे आए देश बन्छ।” यो भाष्यको वाक्य कुनै राजनीतिक दर्शन होइन, यो निराशाबाट जन्मिएको मनोवैज्ञानिक आश्रय हो।
नेपाललाई ईतिहाँसको कालखण्डबाट अहिलेसम्म नियाल्दा व्यवस्था बारम्बार फेरियो तर नेपाली जनताले अवस्था फेरिएको महशुस गरेनन्। बिक्रम सम्बत् २००७ को क्रान्तीपछि प्रजातन्त्र आयो। २०४६ को आन्दोलन पछि बहुदलीय व्यवस्था आयो। २०६२–६३ पछि गणतन्त्र आयो। संविधान फेरियो, शासनको रूप फेरियो। तर, जनताको दैनिक जीवनमा रोजगारीको समस्या उस्तै, उस्तै भ्रष्टाचार, उस्तै शिक्षा र स्वास्थ्यको पहुँच, उस्तै राज्यप्रतिको भरोसा, उस्तै कमजोर जवाफदेहिता देखियो। यही अन्तरविरोधले नायकको खोजीलाई बारम्बार जन्म दिन्छ।
पृथ्वीनारायण शाहलाई इतिहासले राष्ट्र एकीकरणको नायक बनायो। यो ऐतिहासिक सन्दर्भमा स्वाभाविक थियो। तर यही कथाले एउटा गहिरो संस्कार बसाल्यो। राष्ट्र निर्माण भनेको एउटा असाधारण व्यक्तिको काम हो। पृथ्विनारायण शाहलाई एकीकरणमा सहयोग गरी सो कार्य सम्पन्न गर्न सहयोग गर्ने संरचनालाई खासै महत्व दिईएन। यसले संस्थागत राष्ट्र निर्माणभन्दा व्यक्तिकेन्द्रित सोचलाई प्राथमिकता दियो।
नेपालमा पटक पटक लोकतान्त्रिक आन्दोलनहरु भए। लोकातान्त्रिक आन्दोलनका नायकहरू निर्माण गरिए। २०४६ ताकाका तत्कालिन बहुदल पक्षधर दलका नेताहरू लोकतन्त्रका नायक बने। २०६२–६३ का दलपक्षीय पात्रहरू गणतन्त्रका नायक कहलाए। २०५२ साल देखि संचालन भएको सशस्त्र द्वन्द्वका पात्रहरू परिवर्तनका नायक बनाइए। तर समयसँगै नायकहरू व्यवस्थाभित्र हराए वा व्यवस्थाले उनीहरूलाई साधारण बनायो, नायक स्थायी रहेन, तर नेपाली जनमासमा रहेको समस्या भने स्थायी रह्यो, जिउँका तिउँ रह्यो।
आजको नायक खोजी आक्रोश भित्र रहेर, सामाजिक सञ्जाल र इन्स्ट्यान्ट हिरोको खोजी भईरहेको देखिन्छ। नायक खोजिरहेको नेपाली समाजले पुराना सबै असफल भए भन्ने निष्कर्ष निकालेको देखिन्छ। आजको नायक खोजी तर्कभन्दा बढी आक्रोशमा आधारित छ। विगतका सबै राजनीतिक नेतृत्वलाई एउटै असफलताको टोकरीमा हालिएको देखिन्छ। नयाँ अनुहारलाई बर्तमान समास्याको स्वतः समाधान ठानिएको देखिन्छ। आज नायक संघर्षबाट होइन, भाइरल भिडियोबाट जन्माउने प्रयास त कतै भएको छैन भनी संकाको सुबिधा उत्पन्न भएको छ। आक्रामक बोलीलाई साहस मानिन थालिएको छ। सरल समाधानलाई गहिरो नीति ठानिएको छ। तर अबको नेतृत्व गर्छु भन्नेले बुझ्न जरुरी छ, सामाजिक सञ्जालले नायकलाई उचाल्छ, र उचालेकै गतिमा खसाल्छ पनि।
देश व्यक्तिले होइन, प्रणालीले बनाउँछ। यो नै सम्पूर्ण बहसको मूल सत्य हो। व्यक्तिपूजाले खतरा जन्माउछ। नायक खोजीको परिणाममा प्रश्न गर्ने संस्कृति कमजोर बन्नुहुन्न। संस्थाभन्दा व्यक्ति शक्तिशाली बन्नुहुन्न। आलोचना अपराधजस्तो देखिनु हुँदैन। नत्र नायक फेरिन्छ, तर समस्या उस्तै रहने सम्भावना रहन्छ।
साँचो अर्थमा नायक भनेको आफ्ना अधिकार र कर्तव्य बुझ्ने नागरिक हो। प्रश्न गर्न नडराउने समाजले जन्माएको व्यक्ति हो। संस्थालाई व्यक्तिभन्दा माथि राख्ने चेतना हो। साधारणतया नायक प्रायजसो जनआक्रोशको गर्भबाट वा निराशाको छायाँमा वा “अब यसले गर्छ” भन्ने सामूहिक अपेक्षाबाट नै जन्मिन्छ। नायक खोजिन्छ, छानिन्छ र मञ्चमा चढाइन्छ।
नायकभित्र उब्जिएको नायकत्व अचानक मर्दैन। अपेक्षाको असह्य बोझ थाम्न नसकेर क्रमशः क्षय हुन्छ। नायक व्यक्ति हुन्छ, तर जनताको अपेक्षा असाधारण हुन्छ। जब अपेक्षा यथार्थसँग ठोक्किन्छ नायकत्व चिरिन्छ र बिस्तारै बिस्तारै क्षय हुँदै जान्छ र अन्त्यमा शुन्यमा पुग्छ। अझ नायकमा सत्ताको स्वाद चढ्यो भने त नायकत्वको स्खलन र पतन निश्चित हुन्छ। स्खलनको त्यो यात्रामा “व्यवस्था बदल्छु” भन्ने मान्छे व्यवस्थाको सबैभन्दा सहज यात्रु बन्छ।आलोचनाप्रतिको असहिष्णु हुन्छ। प्रश्नलाई षड्यन्त्र ठान्छ। असहमतिको आवाज देशद्रोह देख्छ। यहीँबाट नायक प्रतिनिधिबाट मालिक बन्छ। ऊ भित्रको नायकत्वको स्खलन र पतन हुन्छ।
आजभोली सामाजिक सञ्जाल नायक निर्माण र विनाशको कारखाना बन्ने सम्भावना छ। आज नायकत्व गोलीले होइन, हेडलाइनले मर्छ। नीतिले होइन, क्लिपले मापन हुन्छ। हिजोको उद्धारकर्ता आजको धोकेबाज बन्न समय लाग्दैन। नायकत्वको हत्या असम्भव अपेक्षा, सत्ताभित्रको असहजता, चरित्रहत्या, मिडिया ट्रायल, नजिककाहरूको घात, संस्थागत घेराबन्दी र जनताको अधैर्यता जस्ता बिषयले गर्छ। नायक प्राय शत्रुले होइन, प्रणाली र भीडले मारिन्छ।
अबको नायकले नायकत्व कसरी जोगाउन थोरै सुझबुजले पुग्नेवाला छैन। आफुले गर्ने काममा चमत्कार होइन, सीमाको घोषणा गर्नुपर्छ। व्यक्तिकेन्द्रित होइन, प्रणालीकेन्द्रित काम गर्नुपर्छ। आलोचनासँग मित्रता गाँस्नुपर्छ। शक्ति संचय मात्र होइन, जवाफदेहितामा ध्यान दिनुपर्छ। सही सल्लाहकारको छनोट गर्नुपर्छ। संयमित र सत्य सञ्चारमा अडिग रहनुपर्छ। जनतासँग साझेदारी नै सफलताको मुल मर्म मान्नुपर्छ। आबस्यक पर्दा सत्ता छोड्न सक्ने तयारी हुनुपर्छ। नायकत्व पद होइन आचरण हो भनी स्पष्ट बुझ्नुपर्छ।
लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन जनताको शक्ति प्रयोग गर्ने क्षण हो। निर्वाचन औपचारिकता मात्र होइन। यो कसलाई सत्तामा पठाउने भन्ने निर्णय मात्र हवईन। आब आफुलाई कसरी शासन गराउने भन्ने सामूहिक निर्णय हो। जनता भीड होइन, शक्ति हो। जनता कर तिर्ने आधार मात्र हैन सत्ता वैध बनाउने स्रोत पनि हो। नीति अस्वीकार गर्ने शक्ति हो। भावनामा मत बराल्दा जनतामा निहित असाधारण शक्ति खेर जान्छ। जात वा क्षेत्रमा मत, डर वा प्रलोभनमा मत, “सबै उस्तै हुन्” भन्ने निराशा, यिनले लोकतन्त्रलाई औपचारिकतामा झारिदिन्छ। मुद्दा–केन्द्रित मतदान, सार्वजनिक बहस र प्रश्नले जनताको मतलाई सदुपयोग गर्छ। यही मतको माध्यमबाट वास्तविक नायक जन्मन्छ। निरन्तर निगरानी, नागरिक दबाबको अभाव र जनता मौन हुँदा सत्ता स्वेच्छाचारी बन्छ र नायकभित्रको नायकत्व मर्छ। निष्कर्षमा नायक होइन, प्रणाली निर्माणको काम गरौं। नेपालमा समस्या नायकको अभाव होइन, समस्या नायक बनाउने र भत्काउने संस्कृति दोहोरिनु हो। निर्वाचनमा व्यक्त नागरिकको मतले सरकार बनाउँछ। तर जनतामा हुने निरन्तर सचेतताले मात्र राष्ट्र बनाउँछन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।