खोटाङ । खोटाङ जिल्लास्थित जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ।
सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारकै लागि काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
सेवा सुरु भएसँगै दुईजना महिलाको सफल शल्यक्रिया सम्पन्न भइसकेको अस्पतालले जनाएको छ। अस्पताल प्रमुख डा. अमिताब ठाकुरका अनुसार जिल्लामै उपलब्ध विशेषज्ञ चिकित्सकीय सेवाको प्रयोग गरी विपन्न र पहुँचविहीन महिलालाई लक्षित गरेर कार्यक्रम थालिएको हो। अस्पतालले पाठेघर खस्ने समस्याको शल्यक्रियाका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपन उपचार र जटिल प्रसूति सेवा (दोस्रो पटकको शल्यक्रिया) समेत उपलब्ध गराउन थालेको छ।
जिल्लामै विशेषज्ञ सेवा र निःशुल्क उपचार उपलब्ध भएपछि लामो समयदेखि समस्या लुकाएर बसेका महिलाहरू उपचारका लागि अस्पताल आउन थालेका छन्। जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा समन्वय समिति प्रमुख सनबहादुर राईले मन्त्रालयबाट विशेषज्ञ चिकित्सक ल्याएर सेवालाई दीर्घकालीन बनाउने प्रयास गरिएको बताए।
यसअघि जिल्लाका १० स्थानीय तहमा पाठेघरको शल्यक्रिया सुविधा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो। केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले दर्जनौँ महिलालाई गाडी रिजर्भ गरेर बनेपासम्म लगेर उपचार गराएका थिए। अब भने जिल्लामै गुणस्तरीय सेवा उपलब्ध भएपछि स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर बिरामी बाहिर पठाउनुपर्ने अवस्था अन्त्य भएको छ। स्थानीयले उपचार अभावमा अकालमै ज्यान गुमाउने जोखिम टरेको भन्दै खुसी व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।