विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गरेको छ।
‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सार्वजनिक गरेका हुन्।
घोषणापत्रको खण्ड ‘ङ’ र ‘च’ मा तत्काल गरिने काम र दीर्घकालीन विकासका २५ आधारस्तम्भ प्रस्तुत गर्दै एमालेले महिला, युवा, विद्यार्थी, श्रमिक र विपन्न वर्ग लक्षित लोकप्रिय कार्यक्रम अघि सारेको छ। घोषणापत्रमा सुत्केरी महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ पोषण भत्ता, गर्भवतीको ५ लाखसम्मको निःशुल्क जीवन बीमा, स्वास्थ्य परीक्षण तथा यातायात खर्च दोब्बर गर्ने योजना समेटिएको छ।
एमालेले महिला उद्यमशीलताका लागि २० लाखसम्म निर्व्याजी ऋण र छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने जनाएको छ । युवा तथा विद्यार्थीका लागि प्राविधिक उच्च शिक्षामा २० लाखसम्म निर्व्याजी ऋण, ‘पढ्दै कमाउँदै’ इन्टर्नसिप व्यवस्था, स्टार्टअपमा लाग्ने युवालाई १० हजार डलर बराबरको डलर कार्ड तथा १८–२८ वर्ष समूहलाई मासिक १० जीबी निःशुल्क डाटा दिने एमालेको बाचा छ।
श्रमिक र विपन्न वर्गका लागि न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, वैदेशिक रोजगारीमा रहेकाले वैधानिक रूपमा पठाएको विप्रेषणमा वार्षिक ५ हजार रुपैयाँ बोनस दिने योजना अघि सारिएको छ। गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहा र योगदानमा आधारित सामाजिक सुरक्षामा समेट्ने प्रतिबद्धता पनि छ।
शिक्षा–स्वास्थ्यतर्फ कक्षा १० सम्म दिवा खाजा, शिक्षकहरूको मर्यादाक्रम निर्धारण, स्वास्थ्य स्वयंसेविकाको भत्ता २० हजार पुर्याउने घोषणा गरिएको छ। सुरक्षाकर्मीहरूको सम्मान र कल्याणका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यस्तै, २५ स्तम्भअन्तर्गत १० वर्षमा अर्थतन्त्रको आकार २०० खर्ब पुर्याउने, ५ वर्षमा १०० खर्बको लक्ष्य हासिल गर्ने, स्वदेशमै रोजगारी सिर्जना, सुरक्षित आवास, आधुनिक सहर, पूर्व–पश्चिम रेलमार्ग र मेट्रो रेल निर्माण गर्ने संकल्प गरिएको छ। डिजिटल नेपाल, सुशासन, कृषिको आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणलाई पनि प्राथमिकता दिइएको छ।
परराष्ट्र नीतिमा संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न नीति र पञ्चशीलका सिद्धान्तमा प्रतिबद्धता जनाउँदै एमालेले युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा उभिने एमालेले बताएको छ। सार्वभौम समानता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।