लोड हुँदैछ...

मेनु

रास्वपा बागमतीका उपसभापति हुमागाईँले पनि दिए राजीनामा

रास्वपा बागमतीका उपसभापति हुमागाईँले पनि दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता बढेको र नेतृत्व तहमा नैतिक विचलन देखिएको उल्लेख गरेका छन्। उनले उम्मेदवार छनोट प्रक्रिया पार्टी विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप लगाएका छन्।

वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको उनको भनाइ छ। प्रतिनिधिसभा निर्वाचनमा मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका व्यक्तिलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको आरोप पनि उनले लगाएका छन्।

प्रारम्भिक समिति र केन्द्रीय समिति विस्तार भए पनि त्यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनको दाबी छ। पार्टी संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्क व्यापक रूपमा सङ्कलन गरिए पनि त्यसको पारदर्शी लेखाजोखा सार्वजनिक नगरिएको भन्दै प्रदेश र पालिका तहमा बाँडफाँड हुने भनिएको रकमसमेत स्पष्ट नभएको उनले बताएका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेशका संस्थापक संयोजक ममता शर्मासहितका नेताहरुले पनि पार्टीमा अनियमितता बढेको भन्दै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।