लोड हुँदैछ...

मेनु

रास्वपाकी संस्थापक भुर्तेलले पनि पार्टी छाडिन्

रास्वपाकी संस्थापक भुर्तेलले पनि पार्टी छाडिन्

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संस्थापक सदस्य तथा २०७९ सालको आम निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी खेम कुमारी भुर्तेल (उर्मिला)ले पार्टी परित्याग गरेकी छन् ।

पार्टीको विधि, निर्णय प्रक्रिया र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै भुर्तेलले राजीनामाको घोषणा गरेकी हुन्।

राजीनामा पत्रमा आफू २०७९ सालको प्रत्यक्षतर्फका ११ महिला उम्मेदवारमध्ये मधेस प्रदेशकी एक्लो महिला उम्मेदवार भएको उल्लेख गर्दै उनले स्थापना कालदेखि आफ्नो योग्यता, क्षमता र समय पार्टीलाई निस्वार्थ रूपमा समर्पित गरेको दाबी गरेकी छन्। तर, पछिल्लो समय पार्टी विधि–विधान विपरीत चाप्लुसीवाद र आर्थिक प्रभावमा चलेको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखिएको र जिम्मेवारी दिनुपर्ने स्थानमा बेवास्ता गरिएको आरोप लगाएकी छन्।

भुर्तेलले पार्टीभित्र भ्रष्टाचार बढ्दै गएको दाबी गर्दै फागुन २१ गतेको आसन्न निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताविपरीत रहेको अनुभव गरेको उल्लेख गरेकी छन् । संगठनमा दिनरात खटिएका ‘घण्टी’ समर्थकहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधानविपरीत क्रियाकलाप भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको उनले आरोप लगाएकी छन्।

मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको भन्दै यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच पुगेको उनको भनाइ छ। पार्टी सङ्कटमा पर्दा आफूले दिएको योगदानबारे पार्टी पङ्क्ति र नागरिक जानकार रहेको उल्लेख गर्दै उनले यस्ता क्रियाकलापहरूको साक्षी बसेर मौन रहिरहन नसक्ने भन्दै राजीनामा दिएको स्पष्ट पारेकी छन्।

यसअघि रास्वपाको मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।