काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मुलुक अहिले दुईखाले अतिवादको चपेटामा परेको दाबी गर्दै त्यसबाट देशलाई जोगाउनु नै आफ्नो प्रमुख राजनीतिक दायित्व भएको जनाएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाले आसन्न निर्वाचन, वर्तमान राजनीतिक अवस्था र पार्टीको धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा पार्टीले स्पष्ट शब्दमा देशमा एकातर्फ दलाल र बिचौलियाको आडमा कुशासनका श्रृंखलाहरू चलाउने, अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गरेको छ । अर्कोतर्फ जनभावनालाई निहित स्वार्थ समूहहरूको हितमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार र सर्वोच्च अदालतजस्ता राष्ट्रिय संस्थामाथि आगजनी र आक्रमण गर्ने अतिवाद सक्रिय रहेको नेकपाको आरोप छ ।
दुवै प्रवृत्ति लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि समान रूपमा घातक रहेको नेकपाको भनाइ छ । एउटा अतिवादले राज्य संयन्त्रलाई निजी स्वार्थको उपकरण बनाउने खतरा बोकेको छ भने अर्को अतिवादले जनआक्रोशलाई संस्थाविरोधी अराजकतामा रूपान्तरण गर्ने जोखिम निम्त्याउने दाबी पार्टीका निर्वाचन प्रचार संयोजक अग्नीप्रसाद सापकोटाले गरे ।
लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र जनअधिकारको रक्षा गर्दै सन्तुलित, जिम्मेवार र स्थिर राजनीतिक नेतृत्व आवश्यक रहेको सापकोटाको भनाइ छ । पार्टीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान आफूहरूले निरन्तर राख्दै आएको र अहिले देश निर्वाचनको निर्णायक चरणमा पुगेको विज्ञप्तिमा जनाइएको छ । सामूहिक प्रयासबाट मुलुकलाई निर्वाचनतर्फ अगाडि बढाइएको दाबी गर्दै नेकपाले देशलाई सही दिशामा इमान्दारिताका साथ नेतृत्व गर्न सक्षम शक्ति आफूहरू मात्र रहेको दाबी दोहोर्याएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति पनि पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारमाध्यमहरूमा पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिताविपरीत भ्रामक तथा गलत सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति सचेत रहन आग्रह गरिएको छ ।
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । स्पष्ट निर्णय, कडा निगरानी र आचारसंहिता कार्यान्वयनमार्फत जनविश्वास सुदृढ गर्नु आयोगको संवैधानिक दायित्व भएको भन्दै विगतझैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा पार्टीले व्यक्त गरेको छ ।
नेता सापकोटाले देशभरबाट प्राप्त प्रतिवेदनका आधारमा नेकपा आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने निष्कर्षमा पुगेको दाबी गरे । जनताको विश्वास र संगठनात्मक तयारीका आधारमा पार्टी पहिलो स्थानमा पुग्ने उनको भनाइ थियो ।
नेकपाले नागरिकहरूलाई विभिन्न दलहरूले सार्वजनिक गरेका प्रतिबद्धता र कार्ययोजनाको अध्ययन गर्न, इतिहासका उपलब्धिहरूको रक्षा गर्न तथा परिवर्तनको स्थायित्व र समृद्धिको पक्षमा उभिन आग्रहसमेत गरेको छ । दुईखाले अतिवादबाट मुलुकलाई जोगाउँदै लोकतान्त्रिक मार्गमार्फत स्थिरता र विकास सुनिश्चित गर्नु नै आफ्नो मूल राजनीतिक एजेन्डा भएको पार्टीले स्पष्ट पारेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।